बाहाने । नौबहिनी गाउँपलिकाले राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा गाउँपालिका अन्तर्गतका मावि तहका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट परिणाम ल्याउन सफल विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई दिवसको अवसरमा एक कार्यक्रमका बीच नगद पुरस्कार सहित सम्मान गरेको हो ।
जस अन्तर्गत विद्यालयतर्फ प्रथम गंगा माध्यमिक विद्यालय नौबहिनी-६, बाहाने, द्वितीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौबहिनी-५, डाम्री र अम्बिका माध्यमिक विद्यालय नौबहिनी-८, फोप्ली तृतीय भएका छन् ।
शिक्षकहरुमा गणित विषयतर्फ लुप्लुङ माविका पुरुषोत्तम पौडेल, विज्ञान विषयतर्फ गंगा माविका प्रकाश पोख्रेल, अङ्ग्रेजी विषयतर्फ गंगा माविका गंगा घिमिरे, नेपाली विषयतर्फ गावै माविका कल्पना पुन मगर, सामाजिक विषयतर्फ नेरा माविका माधव रिजाल सम्मानित हुनुभएको छ ।
त्यस्तै विद्यार्थीहरुमा छात्रातर्फ गंगा माविकी दिपशिखा के. सी.ले ३.२३ जिपिए लिएर पालिकाकै उत्कृष्ट र छात्रतर्फ गंगा माविकै नवराज सुवेदीले ३.१३ जिपिए लिएर उत्कृष्ट भइ सम्मानित हुनुभएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यता र उपाध्यक्ष विस्ना थापाको विशेष आतिथ्यता रहेको थियो । सम्पुर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पुर्ण विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक समेतको उपस्तिथि रहेकोे थियो ।