काठमाडौं । बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।

यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका प्यूठान सहित ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ ।

‘यो वर्षाले धानबालीलाई त असर गर्छ नै, यो साताभर किसानलाई धान नकाट्न अनुरोध छ, काटिसकिएको छ भने भित्र्याउनुहोला,’ बुलेटिनमा भनिएको छ, ‘यसबाहेक पर्वतारोहणमा नजान अनुरोध छ। बाढीपहिरोका घटना पनि बढ्नसक्ने भएकाले सचेत रहनुहोला।’

महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय