प्यूठान । स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.ले दशैपछि काठमाण्डौ फर्किने यात्रुलाई टिकटमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज सञ्चालक समितिको बैठकले असोज २७ गतेदेखी कात्तिक २२ गतेसम्म काठमाण्डौ फर्किने सवै यात्रुलाई २० प्रतिशत छुटमा लैजाने निर्णय गरेको पत्रकार भेटघाटनमा अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
प्रालिले काठमाण्डौबाट प्यूठान आउँदा सञ्चालन गरेको ‘एक्स्ट्रा’ गाडीमा २० प्रतिशत बढी भाडा लिएकोले उक्त भाडा फिर्ता गर्नका लागि काठमाण्डौ जाँदा पुनः छुट दिने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “हामीले २० प्रतिशत बढी भाडा लिएको रकम फिर्ता गर्ने निर्णय गरेका छौं,” उहाँले भन्नुभयो, “उक्त रकम फिर्ता गर्ने उपायका रुपमा यो व्यवस्था गरिएको हो, यो छुट सवै यात्रुको लागि हो ।” त्यस अवधिमा पनि रकम फिर्ता पाउन नसक्ने यात्रुले टिकट सहित कार्यालयमा सम्पर्क गरेमा रकम फिर्ता गर्ने समितिले जनाएको छ ।
अनलाईन टिकटले यात्रुलाई सहज
समितिले असोज १५ गतेदेखि २४ गतेसम्मका लागि सवै टिकट बुक भइसकेको जनाएको छ । ४९ वटा ‘एक्स्ट्रा’ गाडी सहित ७६ वटा गाडीको सवै टिकट बुक भइसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त अवधिमा तीन हजार ४० जना यात्रु प्युठान आउनेछन् । अनलाईन टिकट हुँदा यात्रु र समिति दुवैलाई सहज भएको समितिको भनाई छ । दोहोरो टिकटको समस्या, टिकट काट्न लाईन बस्नुपर्ने समस्या हटेकाले यात्रु र समिति दुवैलाई फाईदा भएको श्रेष्ठले बताउनुभयो । आगामी दिनमा अनलाईन टिकटलाई थप प्रभावकारी बनाउँदै लैजाने उहाँको भनाई छ ।
गाडी धनीको मर्का राज्यले सुन्नुपर्छ
समितिले २० प्रतिशत यातायात भाडा बढाएको विषयमा यात्रुले केहि गुनासो नगरेको समितिको दावी छ । सिट संख्यामा मात्र मानिस राखेर यात्रा गर्न पाउँदा यात्रुहरुले गुनासो नगरेको समितिका प्रबन्ध निर्देशक कुमार श्रेष्ठले बताउनुभयो । “हाम्रो गाडीमा आएका यात्रुलाई सोध्नुस कस्तो प्रतिक्रिया छ” उहाँले भन्नुभयो, “गाडीधनीको मर्का राज्यले बुझ्दैन, तरपनि हामी सेवा दिन तयार छौं ।” समितिले लगानी गरेर भएपनि गाडीधनीलाई एकतर्फी यात्रु ल्याउदा परेको घाटा व्यहोर्न तयार रहेको उहाँको भनाई छ ।



S.K. Creative Media Group