काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्स माथि गोलको वर्षासँगै फराकिलो जित निकालेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० फराकिलो गोल अन्तरले हरायो ।
नेपालका लागि फराकिलो जीतमा रेखा पौडेल एक्लैले पाँच गोल गर्नुभयो । यस्तै प्रीति राईले पनि ह्याट्रिक गर्दै राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले एक एक गोल गर्नुभयो ।
खेलमा पहिलो गोल नेपालले सातौं मिनेटमा गरेको थियो । प्रीति राईले नेपाललाई अग्रता दिलाउनुभएको थियो ।
पहिलो हाफमा ४-० गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । ७ र ६५ औं मिनेटमा सुरुका दुई गोल गर्नुभएको प्रीतिले ८८ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल थप्दै ह्याट्रिक गर्नुभएको थियो।
नेपालका लागि रेखा पौडेलले पनि ५ गोल गर्नुभयो। उहाँले ८३ औं मिनेटमा सब्स्टिच्युट हुनुभएको थियो । पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गर्नुभएको उहाँले ४८ औं मिनेटमा ह्याट्रिक पूरा गर्नुभयो । रेखाले ६३ र ७८औ मिनेटमा २ गोल थप्नुभयो । रेखा प्रतियाेगिताकी म्यान अफ दि म्याच घाेषित भएर नगद २५ हजार प्राप्त गर्नुभयो ।
नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो । माल्दिभ्सलाई हराएपछि नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपालको २ खेलबाट ४ अंक भएको छ ।
भुटानको पनि २ खेलबाट ४ अंक छ । भुटानले सोमबार भएको खेलमा श्रीलंकालाई ४-१ गोलले हराएकाे थियो । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले पराजित गरेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।



S.K. Creative Media Group