काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया मौलिक प्रकृतिको रहेको उल्लेख गर्दै विश्वकै निम्ति उदाहारणीय हुनसक्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर गम्भीर मानवअधिकार उलङ्घन पीडितहरुको राष्ट्रिय सञ्जालले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो अधिवेशनमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई स्थापित गर्न पनि अन्तर्राष्ट्रिय समुदायले ढिला गर्न हुँदैन भनेको छु ।” सो अवसरमा उहाँले संयुक्त राष्ट्र सङ्घको महासभा र ‘साइडलाइन’ वार्तामा पनि आफूले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी गराएको बताउनुभयो ।
यसपटक आफू प्रधानमन्त्री भए बित्तिकै शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै उहाँले भन्नुभयो, “पीडित पक्ष र राजनीतिक दलहरु पनि सहमतिबाटै यस विषयलाई टुङ्गोमा पु¥याउनुपर्छ भनेर एकै ठाउँमा पुगेको अवस्था छ । यो आफैँमा नयाँ उपलब्धि हो ।”
राष्ट्रिय सहमतिका आधारमा उक्त विषयलाई अन्तिम निष्कर्षमा पु¥याउन आफूले अथक प्रयास गरिरहेको जानकारी दिँदै उहाँले सकेसम्म सहमति नभए प्रक्रियामा गएर भए पनि टुङ्गोमा पुगिने बताउनुभयो । “संसद्को अधिवेशन चल्ने बित्तिकै यसलाई टुङ्ग्याइनेछ”, उहाँले भन्नुभयो, “विधेयकका विषयमा सहमति नभए प्रक्रियाबाट पनि टुङ्ग्याइन्छ ।”
विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा यही मङ्सिर ५ गते सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेतासँग आफूले गम्भीर छलफल गरेको उल्लेख गर्दै उहाँले सो छलफलमा सङ्क्रमणकालीन विषयलाई टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो ।
“पीडितको चाहना यस प्रक्रिया छिटो अगाडि बढोस् भन्ने छ, सरकारको पनि सोही भावना छ ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कुनै खालको अन्योल र आशंकामा रहनुपर्ने अवस्था छैन, देशभित्र राष्ट्रिय सहमति बनोस् भन्नका लागि सिंहदरबार र बालुवाटारमा राजनीतिक दलप्रति लगातार छलफल भयो । यसबाट एक खालको वातावरण बनेको छ ।” सङ्क्रमणकालीन न्यायसँग् सम्बन्धित विषयलाई निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय माहोल पनि अहिलेसम्मकै राम्रो बनेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मूल्यमान्यता, सर्वोच्च अदालतको आदेशलाई आधार मानेर तथा पीडितको पक्षमा रहने गरी अगाडि बढ्ने दोहो¥याउनुभयो । उहाँले सरकारको प्रमुख मात्र नभई विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता समेत भएको नाताले यसलाई टुङ्ग्याउने र पीडितलाई खुसी बनाउने आफ्नो विशेष जिम्मेवारी रहेको बताउनुभयो ।