प्युठान । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई आफ्नो भत्ताको नवीकरण तथा बायोमेट्रीक गर्न नसक्नेलाई लक्षित गगि झिमरुकमा गाउँमै पुगेर बायोमेट्रीक लिन थालिएको छ । झिमरुक गाउँपालिका-६ तोरवाङ्गले नवीकरण र बायोमेट्रीक गर्न छुटेका जेष्ठ नागरिक, अशक्त, अपांग र बिरामीहरूको सहजताको लागि घरमै पुगेर बायोमेट्रीक लिन सुरु गरिएको हो ।
बुधबार वडाको दहखोला, धगे, मर्कावाङका टोल बस्तिमा पुगेर लाभग्राहिको बायोमेट्रीक लिएको थियो । वडा अध्यक्ष धन बहादुर पुन, वडा सदस्य हेमराज भट्टराई, वडा सचिब रामकुमार चौधरी, अन्य कर्मचारी सहित सेवाग्राहीको घरमै पुगेर नवीकरण तथा बायोमेट्रीक गरिएको छ ।
नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यसहित गाउँ मै पुगेर यो सेवा प्रदान गरिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो । ग्रामीण भेगका जेष्ठ नागरिक, दीर्घ बिरामी, अशक्त, अपांग, भएका नागरिकलाई वडा तथा पालिकासम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । उहाँले भन्नुभयो, ‘अब बायोमेट्रीक नभएर भत्ता पाइदैन कि भन्ने समस्या हटेको छ ।’
वडामा सामाजिक सुरक्षा भत्ता प्राप्य गर्ने जेष्ठ नागरिक, एकल, अशक्त अपांग बालबालिका गरि जम्मा ५६६ जना लाभग्राही रहेकोमा वडामा पुगेर बायोमेट्रीक गर्न नसक्ने जम्मा १८२ लाभग्राहिको बायोमेट्रीक नभएको वडा सचिब रामकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै लाभग्राहिको गाउँ घरमै पुगेर यो सेवा प्रदान गरिने योजना बनाएको बताउनुभयो ।



S.K. Creative Media Group