प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–६, चिसावाङमा आज फूलबारी द्वादसी मेला लाग्दैछ। परम्परागत संस्कृति र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा सराय नाचसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने फूलबारी द्वादसी मेला आयोजक समितिले जनाएको छ।
विजया दशमीको अवसर पारेर हुन लागेको द्वादसी मेलामा धार्मिक परम्परा अनुसार मौलो पूजा गरेर सराय नाच महिला र पुरुषले तरबार समातेर नाच्ने परम्परागत नृत्य मुख्य आकर्षणका रूपमा रहनेछ।
त्यससँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने मेला आयोजक समितिले जनाएको छ। मेलामा लिङ्गे पिङ खेल्ने तथा स्थानीय बजारमा किनमेल गर्ने व्यवस्था पनि मिलाइएको छ।
मेलाको उद्घाटन झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले गर्ने कार्यक्रम तय भएको मेला आयोजक समितिका अध्यक्ष निकेस पोख्रेलले जानकारी दिनुभयो।
स्थानीय कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै आपसी सद्भाव र सामाजिक एकता बढाउने उद्देश्यले विगत वर्षदेखि मेला आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
मेलामा आएर मनोरञ्जन लिन मेला आयोजक समितिले सम्पुर्णलाई अनुरोध समेत गरेको छ। मेलाको सम्पुर्ण तयारी पूरा भएको पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको सहजीकरण पत्रकार बोम बहादुर परियारको रहने छ ।


S.K. Creative Media Group