प्युठान । ‘कारागारमा पुस्तक अभियान’ अन्तर्गत प्युठान जिल्ला कारागारमा पुस्तक हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन थालिएको अभियानको मङ्गलबार लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको हो ।

अभियान उद्घाटन गर्दै प्रमुख अतिथी थापाले जिल्ला कारागारमा पाठ्यपुस्तकको सुविधा मात्र नभएर पढ्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले राणाकालिन अवस्थामा घोडा राख्ने तवेलाका रुपमा प्रयोग भएको कारागारको भौतिक अवस्था सुधार गर्न तर्फ सवै सरोकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले कारागार भवन निर्माण गर्न निती कार्यक्रम र बजेटमा समेट्न पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले खुला कारगारको नीति अगाडि बढाएको भन्दै त्यसलाई पनि नया बन्ने भवनले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले स्थानीयले सरकारलाई बिभिन्न प्रयोजनका लागि दिएको जग्गा अलपत्र परेको भन्दै कारागार भवन निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

अभियानका अभियान्ता गिरीले लुम्बिनी प्रदेशका सवै जिल्लामा यो अभियान विस्तार गरिने बताउनुभयो । उहाँले कैदीवन्दीलाई खुला कारागारको रुपमा अघि बढाउनका लागि पुस्तकालय अभियानले सहयोग पुग्ने बताउनुभयो । “म वैतनिक वकिल हुँदा कारागारमा केहि पुस्तक दिएको थिए,” उहाँले भन्नुभयो,“त्यतिबेला धेरै खुशी हुनुभएको थियो, अलि धेरै किताव दिन पाए हुन्थ्यो भन्ने मनमा लागेको थियो ।”

कारागार प्रमुख सुर्य पन्तले कैदीवन्दीलाई दैनिकी कटाउनका लागि पाठ्यपुस्तकले सहयोग पुग्ने बताउनुभयो । उहाँले अहिले पुस्तकालयमा करीव पाँच सय पुस्तक रहेकाको जानकारी दिनुभयो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीवन्दी रहेको पन्तले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर