प्यूठान । झिमरुक गाउँपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । बिहिवार झिमरुक-६, तोरवाङले उमेरको हिसाबले अति बृद्धवृद्धालाई विभिन्न सामाग्री हस्तान्तरण गर्दै सम्मान गरेको हो ।
झिमरुक गाँउपालिका-६, का २३ जना जेष्ठ नागरिकलाई हर्लिक्स, बिस्कुट, थर्मस, गल्बन्दी, टावेल, नेलकटर, हस्तान्तरण गरेर सम्मान गरिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो ।
बृद्धवृद्धालाई सहजता र चिसोबाट बचाउन सहयोग होस् भनेर हर्लिक्स, थर्मस, गल्बन्दी, टावेल,वितरण गर्ने कार्यलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । “जेष्ठ नागरिक देश गाउँ समाजको ठुलो सम्पत्ति हो ” अध्यक्ष महतरा क्षेत्रीले भन्नुभयो, “त्यसैले जेष्ठ नागरिकको संरक्षण, हेरचाहमा हामी सबैले ध्यान जानु जरुरी छ।” पालिकाभर “जेष्ठ नागरिक घर भेटघाट” कार्यक्रम लिएर सबै जेष्ठ नागरिकको घर आगनमा पुगेर समस्या बुझ्ने, स्वास्थ्यकर्मीलाई सँगसँगै लगेर औषधि उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
अब छिट्टै एउटा पालिका स्तरीय मिलन केन्द्र बनाउने तयारीमा रहेको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । मिलन केन्द्र निर्माण भएपछि पायक पर्ने सबै जेष्ठ नागरिकहरुको भेटघाट हुने र गफिने रमाइलो गर्ने वातावरण बन्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले जेष्ठ नागरिकलाई थोरै भएपनि यो कार्यक्रमले राहत पुगेको बताउनुभयो। शाहीले भन्नुभयो,”आगामी वर्ष बृद्धवृद्धालाई राहत हुने खालका अन्य कार्यक्रमलाई थप प्राथमिकता दिएर योजना बनाउनुपर्छ।” चालू आर्थिक चालुको लागि जेष्ठ नागरिक सम्मान कार्यक्रमको लागि वडा कार्यालयले ९० हजार बजेट बिनियोजन गरेर यो कार्यक्रम गरिएको छ ।
झिमरुक गाउँपालिकाका-६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीको विशेष आतिथ्यता रहेको कार्यक्रममा, वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेल वडा नम्बर ६ का जनप्रतिनिधि कर्मचारी जेष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।
वडा सदस्य राधिका बिकको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन बासुदेव गिरीले गर्नुभएको थियो । बृद्धवृद्धालाई सम्मान गरेकोमा खुसी भएका थिए । उनीहरूले कार्यक्रमलाई निरन्तरताको लागि अनुरोध गरेका छन् ।