माया गिरी
प्युठान। झिमरुक गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई पोषण र स्वास्थ्य आनिबनीमा परिवर्तन ल्याउन पढाउन थालेको छ । सुनौलो हजार दिनका आमहरुलाई पोषण उन्मुख नमुना बस्तिको अवधारणा सम्बन्धि बिषयमा पढाउन थालिएको हो । सनिवार झिमरुक गाउँपालिकको आयोजनामा वडा नम्बर-६, स्थित मर्कवाङ्गमा सुनौलो हजार दिनका आमहरुलाई पोषण सम्बन्धि तालिम दिएको छ ।
वडालाई नमुना बस्ती निर्माणको लागि छनोट गरेको मर्कावाङ्ग बस्तिका ३० जना आमाहरुलाई बहुक्षेत्रिय पोषण कार्यक्रम, आधारभुत पोषण, पोषणमैत्री स्थानीय शासनको अवधारणा, बालमैत्री र पोषणमैत्री स्थानीय शासन, स्थानीय शासनका सूचकहरुको बारेमा जानकारी दिएको स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिनुभयो ।
दुई वर्ष भित्रका बच्चाका आमाहरुलाई स्वास्थ रहन पोषण युक्त खानेकुरा बच्चा बच्चिको हेरचाह कसरी गर्ने भन्ने बारेमा तालिम दिएको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिनुभयो । पोषणको अभावमा नानिबाबुलाई कुपोषण हुने वृद्धि बिकास नहुने, उमेर अनुसार तौल कम हुने जस्ता समस्याबाट छुटकारा पाउन सकुन भन्ने उदेश्यले यो तालिम दिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य आनिबानीमा पहिला आफू परिवर्तन हुने र क्रमश गाउँ समाजलाई परिवर्तन गराउदै घरायसी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । घरायसी उत्पादनमा नै पोषणयुक्त खानेकुरा पाउने भएकोले खानपिनमा ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । पोषणयुक्त खानेकुरा खुवाउनाले बच्चा र परिवार स्वस्थ हुन्छ। उहाँले भन्नुभयो, “जब स्वस्थ र निरोगी परिवार जन्मन्छ तब परिवार खुशी र समृद्ध हुन्छ ।” असल नागरिक निर्माण गर्न दैनिक खापिन र आनिबानिमा ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष प्रमोद पोख्रेलले हजार दिनका आमाहरुलाई आफ्ना नानिबाबुको खानपिन र स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय घरायसी खानेकुरा भन्दा बजारमा पाइने खानेकुरामा बढी ध्यान दिएकोले बच्चाबच्चीहरुको स्वस्थ्यमा निकै असर गरिरहेकोले सचेत रहन उपाध्यक्ष पोख्रेलले आमाहरुलाई आग्रह गर्नुभयो । बजारमा पाइने चटपटे, पानीपुरी, केमिकल र रङ प्रयोग गरिएका खानेकुरा खानाले बालबालिकाको स्वास्थ्यमा प्रत्येक्ष असर गरिरहेकोले यस्ता खानेकुरा नखान नखुवाउन समेत आग्रह गर्नुभयो ।
झिमरुक गाउँपालिका वडा ६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको प्रमुख अथित्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसी र सहजकर्ता सम्झना केसीले गर्नुभएको थियो।