प्यूठान । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले ३८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मंगलबार नौबहिनी गाउँपालिका-६, बहाने स्थित गंगा माबिको सभाहलमा भएको साधारणसभालाई जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले दिप प्रजोलन गरि उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले मानव सेवामा र उद्धारमा क्रियाशिल यस संस्थाको जिम्मेवारी र गरिमा समाजमा निकै महत्त्वपूर्ण भएकोले सहयोगी मनहरु सँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । मुलुकमा मानवीय बिपत्तिमा रेडक्रस अग्रस्थानमा पुगेर खोज, उद्धार, राहत र पुनःस्थापनको कार्यमा लागेर असल कर्म गरिएको स्मरण गर्दै प्रमुख जिसीले रेडक्रसको मानवीय सेवाभावको कार्य महत्त्वपूर्ण भएको बताउनुभयो । बिपत्ति जानकारी दिएर नआउने भन्दै जिल्लामा हुने सबैखाले बिपत्तिको सामना गर्न रेडक्रस र जिल्लाका स्थानीय सरकार मिलेर काम गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
त्यस्तै रेडक्रस परोपकारी संस्था भएकोले स्थानीय सरकारले बिपत्ति सँग सम्बन्धि र अन्य सामाजिक कार्यमा सहकार्य गरेर जानुको विकल्प नरहेको नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले बताउनुभयो । स्थानीय सरकारले रेडक्रस सँगै समन्वय गरेर बिपत्तिमा जुट्नुपर्छ । उहाँले भन्नुभयो, “सबैको सहकार्य र समन्वयमा विपद् प्रतिकार्य ब्यवस्थापन चुस्त दुरुस्त हुनेछ।” बिपत्तिमा परेका मानव सेवामा हामी सबै सरोकारवाला निकायहरु आ-आफ्नो ठाउँबाट मन, वचन र कर्मसिल भएर लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा हुने बिपद्जन्य दुर्घटनामा परेका गरिब दुखी बेसहारा मानव जातिको उद्धार र सहयोगमा सानो कार्यबाट पनि ठूलो सहयोग हुने भएकोले यसतर्फ जोडिन सबैलाई आग्रह गर्नुभयो । उहाँले जिल्लामा हुने जुनै प्रकारको विपद्को सामना गर्न रेडक्रस, सेना, प्रहरी, स्थानिय तह र जिल्ला विपद् ब्यवस्थापन समिती बिचको सहकार्य गरि एकीकृतरुपमा कार्य गर्दा बिपत्तिसँग सामना गर्न सजिलो हुने बताउनुभयो। समाजमा हुने सबैखाले विकृतिको अन्त्यको लागि मिलेर काम गर्न सकेमात्र सामाजिक जागरण जगाउदै सामाजिक काममा प्रेरित गर्न सकिने बताउनुभयो । समाजमा सामाजिक विभेद बालविवाह, महिला हिंसा, आत्म हत्या, सडक दुर्घटना बढ्दै गइरहेकोले कमि ल्याउन सामाजिक रुपान्तरण सँगसँगै मिलेर काम गर्नुपर्ने आवश्यक रहेकोले यस तर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारी अर्यालले अग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री दामोदर शर्मा र कोषाध्यक्ष घनश्याम न्यौपानेले क्रमश वार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदन ३८ औं वार्षिक साधारणसभाले छलफल पछि अनुमोदन समेत गरेको छ।
प्रगति प्रतिबेदनमा प्रस्तुत प्रस्तावित कार्यक्रम सदस्यता वृद्धि गर्ने, विपद् पुर्व तयारी राहत भण्डारणलाई ब्यवस्थित गर्दै राहत उद्धारको कामको गर्ने, विभिन्न तालिम गोष्ठी सेमिनार गर्ने, महामारी विरुद्ध सचेतता कार्यक्रम गर्ने, रेडक्रसको संस्थागत बिकासको लागि क्षमता बिकासका कार्यक्रम गर्ने, अध्ययन अवलोकन गर्ने, एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउने, प्राथमिक उपचार सेवा, ब्लड बैक रेडक्रस भवन जग्गा प्राप्ति आधारभुत स्वास्थ्य उपचार, आत्महत्या न्यूनीकरण तथा महिला हिंसा सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गर्ने, रक्तदान कार्यक्रम गर्ने, बिद्यालय स्तरमा सचेतताका क्रियाकलाप गर्ने, आजिवन सदस्य वृद्धि गर्ने लगाएतका वार्षिक कार्यक्रम अनुमोदन गरेको छ ।
कार्यक्रममा १२ जना आजिवन सदस्यलाई तक्मा प्रदान गरिएको थियो । मानबिय सेवा भवले रेडक्रस अभियानमा प्रभावकारी भुमिका निर्वाह ब्यक्ति, सर्कल, नागरिक समाज, तथा उपशाखालाई पुरस्कर तथा सम्मान गरेको छ। पुरस्कृत हुनेमा समाजसेवी डा. लेखराज सुवेदी, स्वयंसेवक तर्फ तुलक स्मृति पुरस्कारबाट नारायणी जिसी, शिक्षक नायक जनजागृती माबी कसेरीका मधु प्रसाद भण्डारी, यु.रे.स. जनता माबी बाग्दुलाकी शुसिला बुढालाई गरिएको छ । त्यस्तै सम्मान हुनेमा जनता माबि बाग्दुलाका यु.रे.स. संरक्षक इन्द्रमणी पोख्रेल, जनता माबि बिजुलीका यु.रे.स. संरक्षक खडानन्द पौडेल, उपशाखा तर्फ मच्छि उपशाखा झिमरुक गाउँपालिका, रक्तदाता लायन्स क्लब अफ प्युठान र मनु लामालाई सम्मान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको रहेको थियो । कार्यक्रममा नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सदस्य नारायण शर्मा, प्यूठान क्याम्पस प्रमुख कल्पना खड्का, जनता माबि बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणी पोख्रेल, जेष्ठ नागरिक जिल्ला संघ अध्यक्ष गेहराज शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, प्रहरी कर्मचारी, बुद्धिजीवी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका पदाधिकारी, सभासद पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन मन्त्री दामोदर शर्माले गर्नुभएको थियो ।
प्युठान जिल्लामा २०३४ साल बैशाख १० गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानमा १८ वटा उपशाखामा २ हजार ३ सय ८ जना मध्य महिला ५ सय ९९ जना र पुरुष १ हजार ७ सय ९ जना आजिवन सदस्य क्रियाशिल रहेको रेडक्रसको प्रतिबेदनमा उल्लेख छ । साधारणसभाले सात बुदे घोषणापत्र समेत जारी गरेको छ ।