प्युठान । झिमरुक गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई स्वास्थ्य आनिबनी बारे परिवर्तन ल्याउन पोषण बारे नमुना बस्ती छनोट गरि गाउँ गाउँमा पढाउन थालेको छ । बहुक्षेत्रीय पोषण योजना(MSNP-11) को समन्वयमा सुनौलो हजार दिनका आमहरुलाई पोषण उन्मुख नमुना बस्तिको अवधारणा सम्बन्धि बिषय बारे पढाउन थालिएको हो । शुक्रबार झिमरुक गाउँपालिकको आयोजनामा वडा नम्बर-४ को बाङ्गेमरोट स्थित दिपेन्द्र प्राबिको सभाहलमा सुनौलो हजार दिनका आमहरुलाई पोषण सम्बन्धि तालिम दिएको पालिकाले जनाएको छ।

 

गाउँपालिकाले सबै वडाका एक बस्तीलाई छनोट गरि उक्त बस्तीलाई पोषणको क्षेत्रमा नमुना बनाउने गरी काम सुरु गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । पोषण सम्बन्धि सुनौलो हजार दिनका आमा र बच्चालाई लक्ष्यित अभियानलाई सफल बनाउन पहिलो फेजमा तालिम गोष्ठी र सचेतता कार्यक्रम गर्न लागिएको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । कार्यक्रममा सुन्नेमात्र होइन सुनेका सकारात्मक कुरो आफ्नो घर परिवार र गाउँ समाजमा प्रयोगमा ल्याउदै समाज रुपान्तरणको काममा लाग्नुपर्ने बताउनुभयो । पोषण युक्त खानेकुरामा जोड दिन उहाँले सबैलाई आग्रह गर्नुभयो । कम्तिमा आफ्नो बारिमा उत्पादन गरिएका हरियो सागसब्जी र बिषादी रहित खानेकुरा उत्पादन गर्ने मिलाएर खाने गर्नाले स्वास्थ्यलाई फाइदा पुग्ने भएकोले उत्पादनमा जोडिन अनिवार्य रहेको बताउनुभयो ।

“घरभेटघाट कार्यक्रम” अनुसार पनि पालिकाले अभियान चलाइरहेको बताउनुभयो। सो कार्यक्रमबाट बृद्धअबश्थाका आमा बुबालाई स्वास्थ्य चेकजाँच गर्ने पोषिलो खानेकुरा वितरण गर्ने माया साट्ने हौसला दिने काम भैरहेको उहाँले जानकारी दिनुभयो । सभ्य समाज निर्माण गर्न सामाजिक रुपान्तरण गर्दै समाज गाउँ टोल बदल्ने अभियानमा पालिका लागेको छ । उहाँले भन्नुभयो, “आमाहरुले पनि गाउँ घर सकारात्मक रुपमा बदल्न र बदलिएर सभ्य र सुन्दर समाज निर्माणमा लाग्नुपर्छ ।” स्वास्थ्य आनिबानीमा पहिला आफू परिवर्तन हुने र क्रमश गाउँ समाजलाई परिवर्तन गराउदै घरायसी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

वडालाई नमुना बस्ती निर्माणको लागि छनोट गरेको बाङ्गेमरोट बस्तिका ३० जना आमाहरुलाई बहुक्षेत्रिय पोषण कार्यक्रम, आधारभुत पोषण, पोषणमैत्री स्थानीय शासनको अवधारणा, बालमैत्री र पोषणमैत्री स्थानीय शासन, स्थानीय शासनका सूचकहरुको बारेमा जानकारी दिएको स्वास्थ्य शाखा उपप्रमुख हरि जिसीले जानकारी दिनुभयो ।

दुई वर्ष भित्रका बच्चाका आमाहरुलाई स्वास्थ रहन पोषण युक्त खानेकुरा बच्चा बच्चिको हेरचाह कसरी गर्ने भन्ने बारेमा तालिम दिएको स्वास्थ्य शाखा उपप्रमुख जिसीले जानकारी दिनुभयो । पोषणको अभावमा नानिबाबुलाई कुपोषण हुने वृद्धि बिकास नहुने, उमेर अनुसार तौल कम हुने जस्ता समस्याबाट छुटकारा पाउन सकुन भन्ने उदेश्यले यो तालिम दिएको उहाँले बताउनुभयो ।

झिमरुक गाउँपालिका कार्यपालिका सदस्य तुलसा केसीको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख अथित्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख हरी जिसी र सहजकर्ता सम्झना केसीले गर्नुभएको थियो। कार्यक्रममा योजना शाखा प्रमुख सुकदेब रिजाल र भौतिक पुर्वाधार तथा भवन नियमन शाखा प्रमुख इन्जिनियर अशोक जिसी लगाएत जनप्रतिनिधि कर्मचारी शिक्षक, हजार दिनका आमाहरुको उपस्तिथि रहेको थियो ।

सोही क्रममा चालू आर्थिक वर्षमा निर्माणाधीन विभिन्न योनना तथा कार्यक्रमको अनुगमन तथा निरीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय