शोभाखर पन्थी
अर्घाखाँची । अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले भगवती माध्यमिक विद्यालयका छात्र-छात्रालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
आफ्ना छोरा शुभम श्रेष्ठको जन्मदिनको अबसरमा उहाँले भगवती माध्यमिक बिद्यालय सन्धिखर्क-२ कुर , देविस्थानमा अध्ययनरत पूर्व प्राथमिक कक्षा देखि कक्षा ७ सम्मका सबै वालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो । सोही अबसरमा उहाँले विद्यालयमा अध्ययनरत छात्र-छात्रालाई भोजनको समेत व्यवस्था मिलाउनु भएको थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले बालबालिकाको सेवा गर्न पाउँदा निक्कै आनन्दको महसुस हुने बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले चाडबाड र मेला पर्वमा गरिने फजुल खर्च नियन्त्रण गरेर सामाजिक क्षेत्रमा लगाउनको निम्ति सानो सुरुवात मात्र गरेको भन्दै आफुलाई विद्यार्थी भाइबहिनी बीच भेटेर दु:ख सुख साट्ने अवसर प्रदान गरेको भन्दै विद्यालयलाई धन्यावाद समेत दिनुभयो ।
अर्घाखाँची युवापरिषद्का अध्यक्ष समेत रहनु भएका समाजसेवी श्रेष्ठले आवस्यक परे विद्यार्थीलाई हर किसिमले सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो । उहाँले बिद्यालय जस्तो पवित्र मन्दिरमा सहयोग गर्दा हुने आनन्द अन्त कतै नपाईने समेत बताउनुभयो ।
भगवती माध्यमिक विद्यालय कुर, शंखेटारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालको अध्यक्षता र प्रधानाध्यापक ध्रुवबहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा श्रेष्ठकी दिदी तथा शिक्षक माया श्रेष्ठ , भगवती स्थानका ईन्चार्ज माया ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच समाजसेवी काजी श्रेष्ठले शिद्धेश्वर शिवालयमा मन्दिर चुत्रावेसीमा आबासिय पाणिनि वेद बिद्याश्रमका विद्यार्थी तथा वटुकहरुको भोजनको निम्ति करिब ११ हजार ८ सयको खाद्य सामग्री उपलब्ध गराउनुभएको छ ।
स्मरण रहोस् केहिदिन अगाडि मात्र श्रेष्ठले भगवती माध्यमिक विद्यालयमा दाजुहरु ठाकुर प्रसाद श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठको सहगोमा आफना वुवा नन्दलाल श्रेष्ठ ८४ बर्ष पुरा भएको अबसरपारी ११ लाख ११ हजार १ सय ११ रुपैयाँको नन्दलाल-उमाकुमारी अक्षयकोष निर्माण गर्नु भएको छ ।उहाँले सोही अबसरमा पाणिनि वेद विद्याश्रमलाई समेत २ लाख २२ हजार २ सय २ रुपैयाँ प्रदान गर्नु भएको जनाईएको छ ।