काठमाडौँ । मुगुमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आरोपमा मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।
घटनाको दुई सातापछि एक आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शाही मृतक परिवारका आफन्त समेत भएको प्रहरीले जनाएको छ ।
यही कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ हत्या गरिएको थियो। हत्याको दुई दिनपछि घरभित्रै उनीहरुको शव फेला परेको थियो ।
परिवारका चार जनाको हत्यामा शाहीसँगै अर्को एक जनाको पनि संलग्न रहेको अनुमान प्रहरीले गरेको छ । यस बिषयमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group