मित्र थापा, गौमुखी । प्यूठानको गौमुखी गाउँपालिका स्थित अर्खामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार गौमुखी गाउँपालिका-१, अर्खामा रातामाटा युवा क्लवको आयोजनामा गरिएको खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमको समापन गरिएको हो ।

शुभ दिपावलीको अवसरमा यहीँ कार्तिक १९ गतेदेखि शुरु भएको कार्यक्रम आइतबार समापन गरिएको छ । समापन कार्यक्रममा प्रथम, द्धितिय र तृतीय हुनेलाई नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा भएको पुरुष भलिबल प्रतियोगितामा प्रथम धौलागिरी विकास युवा क्लव बागलुङ, द्धितिय युवा एकता क्लव बढिगाड गाउँपालिका-१० बाग्लुङ र तृतीय बेसिबन जागरण फ्रेन्स क्लव गौमुखी गाउँपालिका-१, अर्खा प्यूठान भएका छन ।

विजयी समुहलाई प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश ३३ हजार ३ सय ३३ रुपैयाँ, २३ हजार २ सय २३ रुपैयाँ र  १३ हजार ३ सय १३ रुपियाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

महिला भलिबल तर्फ प्रथम सुनील स्मृति रोल्पा, द्धितिय बेसिबन फ्रेन्स क्लव अर्खा प्यूठान र तृतीय ब्रेभ युथ युवा क्लव रजवारा प्यूठानले हासिल गरेका छन । विजयी समुहले क्रमश १८ हजार, १२ हजार र ८ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार हस्तान्तरण गरिएको छ ।

पुरुष भलिबलतर्फ अनुशासित खेलाडी अनिल बुढा मगर र उत्कृष्ट खेलाडी प्रकाश बुढा र महिला भलिबल तर्फ अनुशासित खेलाडी गिता पुन र उत्कृष्ट खेलाडी आरिया घर्तीलाई पुरस्कार प्रदान गरिएको छ ।

पुरुष भलिबल तर्फ ४० टीम र महिला भलिबल तर्फ १० टीम सहभागी भएको खेलमा बागलुङ, गुल्मी र रोल्पाबाट सहभागी भएको आयोजकले बताएको छ ।

समापन कार्यक्रममा विजयी समुह तथा खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवका कार्यक्रम संयोजक कुशल सिंह थापाले बताउनुभयो ।

गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाको प्रमुख आतिथ्यता तथा क्लवका उपाध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कुशल सिंह थापाले गर्नुभएको थियो ।

गाउँ गाउँमा खेलकुदको आकर्षक बढ्दै गएकोले खेलकुदको विकासमा सहकार्य आवश्यक रहेको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले बताउनुभयो । पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको भएपनी यसलाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो । यस क्षेत्रको पर्यटन, कला संस्कृती, भेषभुसा, सम्बर्द्धन र प्रबर्द्धन गर्दै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय