प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा आत्महत्या न्युनिकरणका लागि सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालित सामुदायिक अंकपत्र कार्यक्रमको समिक्षा गरिएको छ । शुक्रबार गाउँपालिकामा संचालित अंकपत्र कार्यक्रमले सरोकारवाला बिच समिक्षा गरेको हो ।
कार्यक्रममा बोल्दै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आत्महत्या लगाएतका अन्य हिंसाहरु न्युनिकरण गर्न सचेतना अभियानको खाचो रहेको बताउनुभयो । अशिक्षा र चेतना अभावका कारण समुदायमा बाल विवाह, लैंगिक हिंसा, घरेलु हिंसा लगाएतका घटनाहरु दिनदिनै बढ्दै गएको उल्लेख गर्दै उहाँले यसलाई रोक्न समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष क्षेत्रीले पालिकाभित्र आत्महत्या लगाएतका हिंसाहरु रोक्न समुदाय स्तरमा अभिमुखिकरण, तालिम, बैठक, गोष्ठि, लगाएका कार्यक्रम संञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,’ यस्ता कार्यक्रमले मात्र हुँदैन, गाउँगाउँमा जनता पनि जागरूक हुनुपर्छ।’
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेले शैक्षिक संस्थाबाटै हिंसा विरुद्धको जनचेतनाका कार्यक्रम लैजान सकेमात्र हिंसा न्युनिकरण गर्न सकिने बताउनुभयो। खासगरी ग्रामीण बस्तीमा हिंसाका घटना बढिरहेकोले हरेक बिद्यालयसँगको सहकार्यमा शिक्षक र बिद्यार्थीलाई अभिमुखिकरण गर्दै लैजाने हो भने, हिंसा न्युनिकरण थप प्रभावकारी हुने उहाँको भनाई छ । जिल्लाका सबै स्थानीय तहहरुमा यो कार्यक्रम लागू गर्न आयोजक संस्थालाई उपाध्यक्ष पोख्रेले आग्रह समेत गर्नुभएको छ ।
गाउँ समाजमा हुने आत्महत्या, बाल विवाह, लैंगिक हिंसा, घरेलु हिंसा लगाएतका अपराधीक गतिविधिका बिषयमा समुदाय स्तरमा सचेतना जागरण गरी अपराध न्युनिकरण गर्न यो कार्यक्रम सहयोगी बन्ने सहकर्मी समाज नेपालका कार्यक्रम अधिकृत पुनाराम पन्थीले बताउनुभयो । आत्महत्या, लागू पदार्थ दुब्र्यशनी, लैंगिक हिंसा, घरेलु हिंसा, बाल विवाह लगाएत हिंसा विरुद्ध सचेतना कार्यक्रम प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, सुर्खेत र दैलेख जिल्लामा गर्दै आएको पन्थीले जानकारी दिनुभयो । अन्य जिल्लाहरुमा पनि यो कार्यक्रम बिस्तार गर्दै लैजाने योजना रहेको पन्थीको भनाइ रहेको छ ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय विजुवारका ईन्चार्ज रामबचन चौधरी र अस्थायी प्रहरी पोष्ट बाग्दुलाका ईन्चार्ज एकराज खड्काले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा आत्महत्याको कारण, उपाय, समस्या तथा चुनौती लगाएका अन्य अपराधीक गतिविधिको बिषयमा प्रस्तुति रहेको थियो। कार्यक्रममा प्रस्तुत कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय प्युठानको तथ्यांक अनुसार प्यूठान जिल्लामा विभिन्न कारणले दैनिक आत्महत्या गर्ने संख्या निकै बढेको देखाएको छ । आत्महत्यामा कमि ल्याउन सबै तहको सहकार्यमा स्थानीय तहहरले गाउँगाउँमा जागरणका अभियान चलाउनुपर्ने बोल्ने बक्ताहरुको जोड थियो ।
सहकर्मी समाज नेपालको आयोजना, इन्टरनेशनल अलर्टको सहयोग तथा झिमरुक गाउँपालिका र नेपाल प्रहरीको सहकार्यमा गरिएको कार्यक्रमको अध्यक्षता सहकर्मी समाज नेपालका कार्यक्रम अधिकृत पुनाराम पन्थीको गर्नुभएको थियो । कार्यक्रममा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रमोद पोख्रेलको बिशिष्ट आतिथ्यता रहेको थियो ।