
प्युठान । प्युठानमा मोतिविन्दु भएका विरामीहरुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवा र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल, आखाँ उपचार केन्द्र विजुवारको आयोजना तथा स्थानीय तहहरुको सहयोगमा शल्यक्रिया शिविर गरिएको हो ।
शिविरमा ५१ जनाको मोतिविन्दुको शल्यक्रिया भएको आँखा उपचार केन्द्रका प्रमुख लक्ष्मी मल्लले जानकारी दिनुभयो । “करीव २ सय जना व्यक्तिको आँखा परिक्षण गरिएको थियो,” उहाँले भन्नभयो, “त्यसमध्ये ५१ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।” उहाँका अनुसार आगामी पुस महिनामा पनि शिविर सञ्चालन हुनेछ ।
रण अम्विका आँखा अस्पताल भैरहवाका डाक्टर विनिता भट्टराई नेतृत्वको टोलीले शिविरमा आँखाको शल्यक्रिया गरेको हो । डाक्टर भट्टराईले अप्रेशन गरिएका विरामीमध्ये केहि विरामीको मोतिविन्दु जटिल अवस्थामा पुगेको भेटिएको बताउनुभयो । “यहाँ आउनुभएकाहरु मध्ये कोही अलि जटिल समस्या भएका विरामी पनि हुनुहुन्थ्यो जसको मोतिविन्दु पाकेर झरिसकेको थियो ।” समयमै उपचार नगर्दा मोतिविन्दु पाकेर झर्ने भएकाले नियमित रुपमा आँखा जाँच गराउनुपर्ने डाक्टर भट्टराईको सुझाव छ ।
जिल्ला भित्र रहेका सरुमारानी गाउँपालिका बाहेक आठ वटा स्थानीय तहसँग यो वर्ष सम्झौता गरि सेवा प्रवाह गरेको नेपाल नेत्रज्योती संघ प्युठानका अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले बताउनुभयो ।