दाङ । प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजना प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्न माग गर्दै गढवा गाउँपालिकाका संस्थापक अध्यक्ष शहजराम यादवको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पाैडेलसँग भेट गरेको छ ।
सोमवार सिंहदरबारस्थित मन्त्रालयमा भेट गर्दै प्रतिनिधि मण्डलले प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजनाको काम जारी रहे पनि बजेट अभावका कारण समयमा सम्पन्न हुन नसकेको, किसानहरूले चाहना अनुसार सिंचाइ सुविधा उपभोग गर्न नपाएको जस्ता समस्या राखेको थियो ।
आगामी आर्थिक वर्षको बजेटमा बड्कापथ सिंचाइ आयोजना प्राथमिकताका साथ बजेट सुनिश्चित गर्न माग गरिएको प्रतिनिधि मण्डलमा रहनु भएका नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतिनिधि मण्डलमा संविधानसभा सदस्य शान्ता चौधरी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जगत पाेख्रेल, जिल्ला सहसचिव सीता चाैधरी, राप्ति गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरीसहित दाङ देउखुरी क्षेत्रका विभिन्न अगुवाहरू सहभागी भएका थिए ।
बड्कापथ सिंचाइ आयोजना दाङ जिल्लाको प्रमुख कृषियोग्य भू-भागमा सिंचाइ सुविधा पुर्याउने महत्वपूर्ण योजना हो ।
याेजना अन्तर्गत गढवा गाउँपालिका लगायत आसपासका क्षेत्रका हजारौं किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । आयोजना पूरा भएपछि वर्षैभरि स्थायी सिंचाइको व्यवस्था भई कृषिमा उत्पादन वृद्धि तथा किसानहरूको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ ।
अर्थमन्त्री पाैडेलले प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजनालाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
साथै, आयोजना छिटो सम्पन्न गरी किसानहरूलाई प्रत्यक्ष लाभ पुर्याउने गरी आवश्यक समन्वय र प्रक्रिया अघि बढाइने पनि अर्थमन्त्री पाैडेलले आश्वासन दिनुभएको छ ।



S.K. Creative Media Group