सुजल श्रेष्ठ
प्यूठान । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अर्न्तगत प्यूठान नगरपालिका वडा नम्वर ९ का स्थानीयलाई कुखुरापालनमा सहयोग गरेको छ । कार्यक्रम अर्न्तगत कोल्छापका स्थानीय २० घरधुरीलाई ग्रामीण कुखुरापालनका लागि सहयोग गरेको कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रमका लागि दश लाख रुपियाँ विनियोजन भएको थियो । जस अर्न्तगत खोर निर्माण, दाना, ६ हप्ते चल्ला, भाडाकुडा वितरण गरिएको कार्यालयले जनाएको छ । स्थानीय बसन्ता कुमालले कार्यालयबाट भएको सहयोगबाट स्थानीय खुशी भएको बताउनुभयो । उहाँले आगामी दिनमा कुखुरापालनलाई निरन्तरता दिँदै आयआर्जन गर्ने बताउनुभयो ।
बुधबार कार्यालयको आयोजनामा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको नेतृत्वमा कार्यालयले गरेका विभिन्न ठाउँका कार्यक्रमहरुको अनुगमन गरिएको छ । प्यूठान नगरपालिका वडा नम्वर ४ विजुवार स्थित इशान एग्रो फार्ममा निर्माण गरिएको सिंचाई कुलो, माण्डवी गाउँपालिका वडा नम्वर ५ आपचौरमा बाख्रापालन सहयोग कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो ।





S.K. Creative Media Group