प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले योजनाको कामलाई समयमै सुरु गर्न उपभोक्ता समिति गठन गर्ने समयसीमा दिएको छ । बिहिवार पालिकामा बसेको जनप्रतिनिधि र कर्मचारीको बैठकले आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने योजना तथा कार्यक्रमको कार्य प्रारम्भ गर्न उपभोक्ता समिति गठन गर्ने निर्णय गरेको हो ।
गाउँपालिका भित्र उपभोक्ता समिति मार्फत सम्पादन हुने योजनाहरुका लागि आगामी भदौ मसान्त भित्रमा अनिवार्य रुपमा उपभोक्ता समिति गठन गर्नु पर्ने समयसीमा निर्धारण गरिएको गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
समयमै काम सम्पन्न गर्न सजिलोको लागि उपभोक्ता समिति गठनको प्रक्रिया अगाडि बडाउने निर्णय भएको छ। उपाध्यक्ष पोख्रेलले भन्नुभयो, “गाउँसभाबाट पारित भएका योजनाहरु समयमै नगर्ने परिपाटी बडेकोले यो वर्ष समय निर्धारण गरेका छौं ।” असारमसान्तमा मात्र योजनाको काम गरेर भुक्तानीको लागि आउने परिपाटी बढेकोले अन्त्यको लागि र योजना अनुगमन र फरकफरकमा समेत समस्या भएको भन्दै समयमै कार्ययोजना बनाएर योजनाको काम सुरु गर्ने गरि पालिका अगाडि बढेको बताउनुभयो ।
वडा तथा पालिका तहबाट विनियोजित योजनाहरुको कार्यसम्पादन गर्नका लागि गठन भएको समतिको विस्तृत विवरण गाउँपालिकाको कार्यालयमा समेत पठाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले बताउनुभयो ।
त्यसै गरि वडामा गठन गरिएका उपभोक्ता समितिहरुले मङ्सिर मसान्त भित्रमा योजनाको सम्झौता गर्नुपर्ने र काम सुरु गर्नुपर्ने गरि छलफल भएको प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ठेक्का प्रक्रियाबाट संचालन हुने योजनाहरुको काम अगाडि बढाउन कार्यपालिकाको बैठक बसेर कार्ययोजना तय गरि कार्यान्वयनमा लैजाने बताउनुभयो ।
वडा तथा पालिका तहबाट विनियोजित योजनाहरुको कार्य सम्पादन गर्नका लागि उपभोक्ता समितिहरु गठनमा ढिलाई हुँदा कतिपय योजनाहरुको समयमै काम सम्पन्न हुन नसक्ने, रकम भुक्तानीमा समस्या आउने, उपभोक्ता समितिहरुले कार्य सम्पादनमा धेरै समस्या भोग्नुपर्ने र कामको गुणस्तरीयतामा समेत प्रश्न उठ्ने गरेकाले त्यस्ता समस्याको न्यूनीकरणका लागि निश्चित समयावधि तोकेर नै योजानाहरु संचालन गर्न लागिएको प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्याल, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख बिकास केसी, शाखा प्रमुख, इन्जिनियर, वडा प्रविधिक लगायतको उपस्थिति रहेको थियो ।




S.K. Creative Media Group