प्युठान । जिल्लामा पछिल्लो समय डेंगु रोग फैलन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै सचेतता अभियान थालिएको छ । शुक्रबार महामारीको रुपमा फैलने डेंगु रोग नियन्त्रणको लागि स्वास्य कार्यालय प्यूठानको आयोजना र प्यूठान नगरपालिकाको समन्वयमा सचेतना अभियान सञ्चालन गरिएको हो ।
जिल्लाको बजारिक क्षेत्र जुम्री बसपार्क, जुम्रीबजार, बिजुवार बजार आसपास लगायतका क्षेत्रहरुमा डेंगु रोगबाट बच्ने उपायका विषयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको स्वास्य कार्यालय प्यूठानले जनाएको छ ।
जिल्लाको महत्त्वपूर्ण बजारिक केन्द्र जुम्री बसपार्क देखी बिजुवार स्वास्थ्य कार्यालयसम्म चेतनामुलक माइकिङ्ग, व्यानर सहितको सचेतना र्याली तथा बजारका आसपासका क्षेत्रमा पानी जम्ने सम्भावित स्थानहरुका खाल्डाखुल्डी, टायर, बोत्तल, पोखरी भएका स्थानहरुमा हुने लामखुट्टेका लार्भाहरुको स्प्रे गरी नष्ट गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण हुने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने स्वास्थ्य कार्यालय प्युठानका कार्यालय प्रमुख मधुसुधन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरलगायतमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । त्यसैले यस्ता ठाँउमा सफाइ गर्नुपर्ने बताउनुभयो ।
यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्छ । डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिनुनै उत्तम हुने बताउनुभयो ।
नेपाल सरकार संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन महिनालाई डेङ्गु सचेतना महिना कार्यक्रमको रुपमा मनाउने निर्देशन अनुरूप प्युठान जिल्लामा स्वास्थ्य कार्यालय प्युठानको आयोजना एवं विभिन्न स्थानीय तहको समन्वयमा डेङ्गु सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको छ। सोही कार्यक्रम अन्तर्गत शुक्रबार जिल्लाको प्युठान नगरपालिका अन्तर्गत पर्ने बजारिक केन्द्र जुम्री बिजुवार बजार क्षेत्रमा जनचेतनामुलक अभियान चलाइएको हो ।
जिल्लाको महत्त्वपूर्ण बजार क्षेत्रका खाल्डाखुल्डीमा जमेको पानी, टायर, बोत्तल, पोखरीमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकोले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान गरिएको प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द राज घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय प्युठानको आयोजना एवं प्युठान नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय प्युठानका कार्यालय प्रमुख मधुसुधन खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कौशलराज वैद्यले गर्नुभएको थियो । उक्त चेतनामुलक अभियानमा जनप्रतिनिधि, स्थानीय प्रहरी, स्वास्थ्यकर्मी, सरोकारवाला, व्यापारी लगायत स्थानीयको सहभागिता रहेको थियो ।
साउन यता २ जनामा डेङ्गु सङ्क्रमण
साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन यता १५ दिनमा २ जनामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय प्युठानका कार्यक्रम फोकल पर्सन डोरबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०-२०८१ मा विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १ सय ३५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा भने बिरामीको संख्या घटेर ७९ मा झारेको उहाँले जानकारी दिनुभयो । पालिका अनुसार हेर्दा प्युठान नगरपालिकामा १९ जना, स्वर्गद्वारी नगरपालिकामा २०, झिमरुक गाउँपालिकामा २, माण्डबी गाउँपालिकामा ११ जना, ऎरावती गाउँपालिकामा ११ जना, मल्लरानी गाउँपालिकामा १ जना, नौबहिनी गाउँपालिकामा ३ जना सरुमारानी गाउँपालिकामा १२ जना डेङ्गुका बिरामी फेला परेको उहाँले जानकारी दिनुभयो। त्यस्तै गौमुखी गाउँपालिकामा भने डेङ्गुका बिरामी फेला नपरेको फोकल खड्काले जानकारी दिनुभयो ।



S.K. Creative Media Group