झिमरुक । प्यूठानको सर्वाधिक चर्चा र चासोको रुपमा हेरिएको बाग्दुला मच्छि सडक खण्डको निर्माण कार्यले गति लिइरहेको छ । बुधवार सोही अनुसार बतासेडाँडादेखि जिमुरखोलासम्म पर्ने सडक क्षेत्रमा रहेका करिब ४५ वटा विद्युतका पोलहरु सडकको मापदण्ड भित्र भएकाहरुलाई हटाउने र अनेत्र सार्ने विषयमा स्थलगत अनुगमन निरीक्षण गरिएको छ । उक्त सडकमा निर्माण गर्दा विद्युत पोलकै कारण बिलम्ब नहुने भएको हो ।
नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र प्यूठान र झिमरुक गाउँपालिकाको प्राविधिक टोलीले हटाउनुपर्ने पोलहरुको बारेमा स्थलगत अनुगमन गरेको हो । गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको नेतृत्वमा पुगेको टोलीले एचटी लाइनमा पर्ने ३५ पोल र एलटी १० वटा पोल पर्ने प्रारम्भिक सर्भेमा देखिएको छ । कतिपय पोल तार क्षतिग्रस्त भएकोले मर्मत समेत गर्नुपर्ने देखिएको छ । स्थलगत सर्भेमा नेपाल विद्युत प्राधिकरण प्युठान बितरण केन्द्र विजुवार प्यूठानका प्राबिधिक खुब बहादुर खत्री सहभागी समेत सहभागी हुनुहुन्थ्यो ।
आर्थिक वर्ष २०८१÷ ०८२ मा झिमरुक गाउँपालिकाको पहलमा पाँच करोड बजेटमा बतासेडाडा–जिमुरखोला खण्डमा साढे तीन किलोमीटर सडकमा स्तरोन्नतीको काम भइरहेकाले उक्त सडक क्षेत्रमा पर्ने विद्युत पोल धेरै रहेकोले सडक चौडा गर्न समस्या भएको थियो । वितरण केन्द्रसँग समन्वय गरेर पोल व्यवस्थापन गर्न थालिएको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो।
विद्युत्त पोल सार्दा संघ र प्रदेस सरकारले संचालन गरेका योजना भएमा शतप्रतिशत उक्त योजनाबाट खर्च व्यवस्थापन गर्नुपर्ने नीति छ । तर, स्थानीय सरकारको लागत सहभागीतामा योजना संचालन भएको छ भने त्यस अवस्थामा स्थानीय सरकारले १५ प्रतिशत र नेपाल विद्युत्त प्राधिकरणले ८५ प्रतिशत लागत रकम व्यहोर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।



S.K. Creative Media Group