प्युठान । झिमरुक गाउँपालिकामा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी नरहरी अधिकारीलाई एक कार्यक्रमका बिच भेटघाट तथा स्वागत गरिएको छ। सोमबार पालिका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, उद्योगी, व्यापारी लगायत स्थानीयको उपस्थितिमा पालिकामा भेटघाट तथा स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले सडक दुर्घटना, समाजमा अपराध नियन्त्रणमा स्थानीय तह र जनताको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । प्रहरीले स्थानीय जनता र स्थानीय तहको समन्वय र सहयोगमा शान्ति सुरक्षा कायम राख्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी शान्ति-सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, विपद व्यवस्थापन, सडक अनुशासनदेखि लिएर जनतालाई सहयोग पुऱ्याउने हरेक क्षेत्रमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकोले यो जिम्मेवारी पूरा गर्न प्रहरी युनिट तयार र सचेत रहेको डिएसपी अधिकारीले बताउनुभयो ।
पालिकाले आफ्नो बजार चोकमा सीसीटीभी जडान गर्न सकेमा सडक दुर्घटना न्यूनीकरण गर्न सजिलो हुने र अपराधीलाई कानुनी दायरामा ल्याउन पनि मद्दत पुग्ने बताउनुभयो । सडकका चोकचोक र बजारका ठाउँठाउँमा सीसीटीभी क्यामरा जडान गर्न सके अपराधीहरूलाई पक्रन सजिलो हुने बताउनुभयो । सुरक्षा खतरा भएको स्थानमा सीसीटीभी जडनलाई प्राथमिकता दिन स्थानीय तहलाई अनुरोध गर्नुभयो ।
जिल्ला, स्थानीय तह, वडा र टोल र विद्यालयहरुमा साझेदारी समिति गठन गरेर अपराध न्यूनीकरण गर्ने र त्यसैअनुसार समुदायमा जनचेतना फैलाउने काम भइरहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो। प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा अपराध न्यूनीकरण गर्ने हरपल लागि परेको बताउनुभयो । यो कार्यक्रमले अपराध नियन्त्रणमा प्रहरीलाई धेरै सहयोग पुगेको डिएसपी अधिकारीले बताउनुभयो । उहाँले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
चाडपर्वका समयमा अपराधका घटना बढ्ने भएकोले प्रहरी यो विषयमा सचेत रहेको छ । गाडिभाडाना ठगी गर्ने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई कार्वाहीको दायरामा ल्याउने प्रहरीले निगरानी बढाएको बताउनुभयो ।
भेटघाट कार्यक्रममा प्रहरीले गाउँ समाजमा भरपर्दो शान्ति-सुरक्षा अमनचयन कायम राख्दै जनताको जीवन र सम्पत्तिको रक्षा गर्ने सन्दर्भमा छलफल भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । प्रहरीले नागरिकको शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउन स्थानीय सरकार मिलेर जान तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो। गाउँघरमा हुने हरेक अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले मात्र सम्भव नहुने भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।
जिल्लामा आत्महत्या बढ्दो छ यसलाई कमि ल्याउन प्रहरी र स्थानीय सरकारले संयुक्तरूपमा सचेतताका कार्यक्रम गर्ने गरि अगाडि बढ्ने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्न प्रहरी र जनता बिच सुमधुर सम्बन्ध कायम गर्दै हरेक समस्याको समाधान प्रहरी मात्र नभएर सबै मिलेर अगाडि बढ्न सकेमात्र सम्भव हुने बताउनुभयो । प्रहरी जनताको भरोसाको केन्द्र र शान्ति सुरक्षाको अग्रणी जनशक्ति भएकोले जनताको विश्वास कायम रहेको बताउनुभयो ।
सोमबार नै झिमरुक गाउँपालिका तथा प्युठान नगरपालिकामा मातहतका प्रहरी युनिटको निरीक्षण तथा अनुगमन गरिएको छ । झिमरुक गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय मच्छी, अस्थायी प्रहरी चौकी सौतामारी र प्युठान नगरपालिका(९ मजुवामा रहेको मरन्ठाना प्रहरी चौकीको आन्तरिक गतिविधिको अनुगमन निरीक्षण गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत बिकास केसी वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकामा कार्यरत बिभिन्न शाखाका शाखा प्रमुखहरु, होटल व्यवसायी संघ, निर्माण व्यवसायी संघ प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा डिएसपी अधिकारीलाई खादा टीका लगाइ स्वागत गरिएको थियो । कार्यक्रम प्रतिनिधि मुलक तरिकाले आफ्नो सुझाव राखिएको थियो। सबैले जिल्लामा शान्ति सुरक्षा अमनचयन भरपर्दो कायम गर्ने कुरा प्रहरीसँग सहकार्य गरेर जाने प्रतिबद्ध जानाएका थिए।




S.K. Creative Media Group