बुटवल । अनुभव आदान प्रदान गर्ने उदेश्य सहित प्यूठानको ऐरावति सामाजिक उद्यमी महिला सहकारी अध्ययन अबलोकन भ्रमणमा निस्किएको छ । विभिन्न सहकारी, बाख्रा फार्म, कृषि फार्मको अध्ययन अबलोकन गर्नका लागि बुधबारदेखी ३ दिने भ्रमण थालेको हो ।
पहिलो दिन लमही-९ रिहार दाङ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्ययन अबलोकन सहित अन्तरक्रिया गरेको छ । कर्मठ सहकारीका अध्यक्ष देवीमाया थापाको अध्यक्षतामा भएको अन्तरक्रियामा सहकारीको गतिविधिबारे ब्यबस्थापक हेम नारायण चौधरीले प्रस्तुति राख्नुभएको थियो ।
२०६८ सालमा समुह गठन बाट शुरूवात गरि २०७० सालमा सहकारी गठन गरिएको हो । २५ जना सदस्य सुरुवात भएको सहकारीमा अहिले १ हजार ९५ सदस्य पुगेका छन ।
खशी बोका बिक्री बितरण गर्दै आएको सहकारीले गत वर्ष २ हजार ८३ वटा खसीबोका बिक्री गरेको ब्यबस्थापक चौधरीले जानकारी दिनुभयो । खसीबोकाको माग धेरै हुँदा पुर्याउनु कठिन भएको चौधरीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी ऐरावती गाउँपालिकाका लेखा शाखा प्रमुख राम बहादुर बस्नेतले सिकाइका लागि राम्रो ठाउँ कर्मठ सहकारी भएको बताउनुभयो । उहाँले ऐरावती सहकारीले राखेको उदेश्य पुरा गर्न भ्रमणबाट धेरै सिकाई हुने बताउनुभयो ।
कार्यक्रममा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले ऐरावति सामाजिक उद्यमी महिला सहकारी संस्थाको भ्रमणको उदेश्यबारे जानकारी गराउदै सहकारीको अबलोकन र अन्तरक्रियाले सहकारीको कुशल ब्यबस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।
ऐरावति सामाजिक उद्यमी महिला सहकारीले बिहीबार र शुक्रबार पाल्पा र बुटवल क्षेत्रमा रहेका बाख्रा फार्म, कृषि फार्म, सहकारीको अध्ययन गर्ने सहकारीका अध्यक्ष कमला घर्ति मगरले बताउनुभयो । सहकारीले थालेको बस्तुको बजारीकरण गर्न थालेको र थप अनुभव बटुल्न अध्ययन अबलोकन गर्दै आएको बताउनुभयो ।
ऐरावती गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगाको सहजिकरणमा सञ्चालीत ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत अध्ययन अबलोकन भ्रमण आयोजना गरिएको कार्यक्रम ब्यबस्थापक नारायणलाल श्रेष्ठले बताउनुभयो । पालिकाको कृषि तथा पशुपालनको सुधार गरी व्यावसायिक रुपमा अघि बढाउन परियोजनाले काम गर्दै आएको उहाँको भनाई छ ।




S.K. Creative Media Group