प्यूठान । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले संविधानलाई च्यात्ने प्रयत्नका विरुद्ध एमालेले सदभाव र्याली सहित जनप्रर्दशन गरेको बताउनुभएको छ ।
प्यूठान सदरमुकाम खलंगा स्थित बसपार्कमा आयोजना भएको जनसभामा बोल्दै नेता थापाले जनताले आफै निर्माण गरेको संविधान च्यातेर त्यसका व्यवस्थाहरुको उल्लंघन गरेर देशलाई संविधान विहिनताको बाटोमा लैजान खोजिएकाले एमालेले प्रतिवादमा उत्रिएको बताउनुभयो ।
देशका ७७ वटै जिल्लामा संविधानको रक्षाका निम्ती, प्रतिनिधिसभाको पुर्नस्थापनाको निम्ती यो कार्यक्रम गरिएको छ,” उहाँले भन्नुभयो,“भदौ २३ र २४ गते भएको विध्वंश र उत्पात विरुद्ध एमालेले आफूलाई एकतावद्ध गरेको छ ।” जनताले बनाएको संविधान च्यातेर व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्नेहरुका विरुद्ध एमाले प्रतिवादमा उत्रिएको उहाँको भनाई छ ।

नेता थापाले प्यूठान जिल्लाका पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा प्रशासनले आक्रमण रोक्न चासो नदेखाएको भन्दै आक्रमणमा संलग्नलाई पहिचान गरि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा(एमाले)का नेता हरि प्रसाद रिजालले मुलुकको समृद्धिको नारा बोकेको एमालेका विरुद्ध घेराबन्दी गरिएको बताउँदै त्यसका विरुद्ध एमाले एक्लै लड्न सक्ने बताउनुभयो । उहाँले नेकपा(एमाले)ले ल्याएको नीति तथा कार्यक्रमहरुबाट देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिने बताउनुभयो । मुलुकलाई संक्रमणमा लैजान नदिन र अस्थिरता बनाई राख्न विभिन्न षडयन्त्र भइरहेको समेत उहाँले बताउनुभयो ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीधर रोकाले जेनजी आन्दोलनले देशलाई फेरी आर्थिक विकासमा पछाडी पारेको बताउनुभयो । उहाँले विगतमा भएका द्धन्द्धमा समेत यसप्रकारको भौतिक क्षति नभएको भन्दै जेनजी आन्दोलनमा भएको आक्रमण र अमानविय व्यवहार अनुचित भएको टिप्पणी गर्नुभयो । उहाँले मुलुकको समृद्धि र देश निर्माणका लागि जेनजी युवाहरु राजनीतिमा सक्रिए बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजय विराज विष्टले जेनजीले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनको विषयलाई सम्मान गर्ने बताउँदै आगजनी र आक्रमणबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापित हुन नसक्ने बताउनुभयो । जेनजीको नामा प्यूठानमा फरक व्यक्तिहरु संलग्न भएको अध्यक्ष विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,“उनका (जेनजी) नाममा प्यूठानमा को को उफ्रिए तपाई हामीलाई थाहा नभएको हो र ?” उहाँले जेनजीले उठाएको देश समृद्धि बन्नुपर्छ भन्ने नारा एमालेले बोकेर अघि बढेको बताउनुभयो ।

कार्यक्रममा युवा तथा विद्यार्थी नेता टेकराज केसीले जेनजी विद्यार्थी अनुशासित, मर्यादित र अध्ययनशिल बन्नुपर्ने बताउनुभयो । तोडफोड, आक्रमण जस्ता घटनामा जेनजी पुस्ता लाग्न नहुने र मुलकलाई सहि दिशामा अघि बढाउने बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाका विभिन्न ठाउँबाट एमालेका नेता, कार्यकर्ता, जेनजी, सुभेच्छु कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममको सञ्चालन सचिव इन्द्रमणी पोख्रेल र उप सचिव इश्वरा आचार्यले गर्नुभएको थियो । बेलुवादेखी खलंगा बसपार्कसम्म बाजागाजा सहित बस, जीप र मोटरसाईकल र्याली गरिएको थियो ।



S.K. Creative Media Group