प्यूठान । सृजनशिल तारा इङलिस बोडिङ स्कुल मरन्ठाना खरिबोटले इन्जिनियर भुपाल केसीलाई सम्मान गरेको छ । प्यूठान नगरपालिका-९ , मजुवा (हाल अस्ट्रेलिया) निवासी इन्जिनियर केसीलाई सूचना प्रविधि क्षेत्रमा उहाँले पुर्याउनुभएको मार्गदर्शन र योगदानको कदर गर्दै एक कार्यक्रम गरि सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै इन्जिनियर केसीले सृजनशिल तारा इङलिस बोडिङ स्कुलले सम्मान गरेको प्रति प्रफुल्ल हुँदै स्कुल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । स्कुलले यस क्षेत्रमा बलियो सिकाई केन्द्रको रुपमा स्थापित गरेर जानुपर्ने बताउनुभएको छ । यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हाँसिल गर्दै ग्रामीण बस्तिका बालबालिकाहरुलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले बोडिङ्ग स्कुलको प्रशंसा गर्दै स्कुलले शैक्षिक क्षेत्रमा थप उपलब्धि हाँसिल गरि यस क्षेत्रमा शैक्षिक गौरव बढाउन अझ मद्दत गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सृजनशिल तारा इङलिस बोडिङ स्कुलका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले अभिभावक एवम् सिंगो समुदायले देखाएको माया सद्भावले र शिक्षकहरुले गरेको अथक मेहनतबाट मात्र शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत हुने भएकोले सबैको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो । स्कुललाई अलि फरक तरिकाले व्यवस्थापन गर्न खोजिरहेको बताउनुभयो । उहाँले व्यवस्थित लाइब्रेरी, कम्प्युटर माध्यम, पावर प्वाइन्ट, अतिरिक्त क्रियाकलाप, बालमैत्री कक्षा लगायत अन्य प्रविधिको माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रवन्ध निर्देशक डा.भीमसेन गिरी, नेपाल पत्रकार महासंघ प्युठानका सचिब वासुदेव गिरी, स्थानिय बुद्धिजीवी डोर बहादुर जिसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक बुध्दिराज पन्डितले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुबाट विभिन्न रचनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
सृजनशिल तारा इङलिस बोडिङ स्कुलका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रम स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, शिक्षक विद्यार्थी लगायत स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।
२०२६ साल फागुन १६ गते प्युठान नगरपालिका- ९ मजुवामा जन्मनुभएका केसीले प्राथमिक तहको अध्यन स्थानीय बालबिद्या माध्यमिक विद्यालय मजुवा र जनता माध्यामिक विद्यालय, बाग्दुला प्युठानबाट २०४३ मा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो। उहाँ उच्च शिक्षाको लागि काठमाडौं जानुभयो । काठमाडौंमा ०४६ सालमा त्रिचन्द्र क्याम्पसबाट आइएस्सी प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभयो ।
त्यसपछि मोनास युनिभर्सिटी मेलवर्न अस्ट्रेलियाबाट ब्याचलर अफ इन्जिनियरिङ इन इलेक्टि्रकल एन्ड कम्प्युटर उत्तीर्ण गर्नुभएको हो । हाल उहाँ अस्ट्रेलियामा इलेक्टि्रकल एण्ड कम्प्युटर इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ ।





S.K. Creative Media Group