प्युठान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन दर्त पछि प्युठान जिल्लामा चुनावी सरगर्मी तातिन थालेको छ । अहिले जिल्लामा विभिन्न राजनीतिक दलहरू र तिनका तिनका अगुवा कार्यकर्ता र उम्मेदवारहरु चुनावी प्रचारको रणनीति र भेटघाटमा ब्यस्थ हुन थालेका देखिन्छन् ।
एमालेका तर्फबाट प्युठानबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्य थापालाई चुनावी मैदानमा उतारेको छ । आफ्नो उम्मेदवारलाई जिताउन यतिबेला एमाले प्युठानले प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापा सहित पालिका, वडा तहमा अगुवा कार्यकर्ता, जनभेटघाट कार्यक्रम तथा चुनावी योजना बनाउन जुटेका छन् ।
बिहिवार जिल्लाका तीन पालिका स्वर्गद्वारी नगरपालिका, माण्डबी र सरुमारानी गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट गरेको नेकपा एमाले प्युठानका सचिब इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो। भेटघाट कार्यक्रमको अवसरमा फागुन २१ गते हुने निर्वाचनका बारेमा समेत छलफल भएको सचिब पोख्रेलले जानकारी दिनुभयो ।
२०७९ सालको निर्वाचनमा प्यूठानी जनताले ५ वर्षे कार्यकालका लागि जिम्मेवारी सुम्पे पनि ३३ महिनाको छोटो अवधिमै पुनः जनता माझ आउनु परेको कारण र आगामी मार्गचित्र बारे छलफल गरिएको एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो ।
२०७० सालदेखि एमालेले संघीय र प्रदेश सदनमा जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधिको अगुवाईमा भए गरेका काम बारे समिक्षा समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
देशको समृद्धि, सुशासन र बलियो लोकतन्त्रका लागि एमाले उम्मेदवार थापाले प्युठानका जनताले आफुलाई मतदिएर विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ३ वर्षको अवधीमा रोकिएको विकासको निरन्तरताको लागि आफ्नो जित आवश्यक भएको बताउनुभयो । उहाँले चाडै नै जनताबीच लिएर जाने आफ्नो चुनावी एजेन्डा सर्वजनिक गर्नेगरी जिल्ला पार्टी र आफू लागिरहेको बताउनुभयो ।
एकमात्र निर्वाचन क्षेत्र भएको प्युठानमा सुर्य थापा सहित १४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । ती मध्ये एकजना मात्र महिला उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ ।



S.K. Creative Media Group