प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको औपचारिक उद्घाटन गर्नुभयो ।
अभियानको शुभारम्भ गर्दै अध्यक्ष महतरा क्षेत्रीले समाजमा विद्यमान सबै प्रकारका लैङ्गिक हिंसा, विभेद, शोषण तथा दुर्व्यवहारको अन्त्य गरी समतामूलक र सभ्य समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत सबै नागरिकको सम्मान, समानता र सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
हिंसामुक्त समाज निर्माणका लागि व्यक्ति, परिवार, समुदाय र संस्थागत तहबाटै सहकार्य हुनुपर्नेमा जोड दिँदै अध्यक्ष महतरा क्षेत्रीले अभियानलाई सफल पार्न सबैको दायित्व उत्तिकै महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष सिताराम पोख्रेल, स्वास्थ्यकर्मी बिजुला जिसी लगायतले लैङ्गिक तथा महिला हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : समानता, सम्मान र सुरक्षित समाजको सुनिश्चितता” भन्ने मूल नाराका साथ सुरु भएको अभियान अन्तर्गत कार्यक्रममा “म हिंसा गर्दिन, गरेको सहन्न, कसैले गरेमा यसको विरुद्धमा आवाज उठाउँछु” भन्ने प्रतिबद्धतासहित हस्ताक्षर संकलन समेत गरिएको थियो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य तुलसा केसीले राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, स्वास्थ्य शाखा प्रमुख विकास केसी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, उद्योग वाणिज्य संघ मच्छी बजार क्षेत्रका अध्यक्ष भरत ढकाल, इलाका प्रहरी चौकी प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख शर्मिला बिकले गर्नुभएको थियो ।


S.K. Creative Media Group