काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएकोमा गल्ती महशुस नगर्नेलाई एमालेमा ठाउँ नभएको बताउनुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आम जनता पार्टीका नेतालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले त्यस्ता तत्वलाई एमालेमा प्रवेश नदिइने बताउनुभयो । “कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा पश्चताप गरेर अगाडि बढ्ने हो, कतिपय तत्वहरुसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन्”, उहाँले भन्नुभयो ।
कम्युनिष्ट पार्टी फोरेर दक्षिणपन्थिको हातमा सत्ता सुम्पनेलाई एमालेमा प्रवेश निषेध गरिएको उहाँले प्रष्ट पार्नुभयो । “उनीहरुलाई दुई तिहाईको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, आफ्नो दुई तिहाईको सरकार ढालेकोमा, दक्षिणपन्थी सरकार बनाएकोमा अलिकति पनि पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता खालका मानिसलाई पार्टीमा प्रवेश हुँदैन”, उहाँले भन्नुभयो ।
गल्ती महशुस गर्नेलाई पार्टीमा सम्मानका साथ भित्र्याउने उहाँले बताउनुभयो । एमाले प्रवेशको लहर निरन्त बढी रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सो कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य एवं आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुवे र सुरेन्द्रप्रसाद चौधरी एमालेमा प्रवेश गर्नुभएको थियो । अध्यक्ष ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।



S.K. Creative Media Group