प्यूठान । १०१ वर्ष उमेर पुग्नुभएकी ऐरावती गाउँपालिका वडा नम्वर ६ महेन्द्रदिपकी जेष्ठ नागरिक निमादेवी गुरुङलाई सम्मान गरिएको छ । ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । उहाँले ज्येष्ठ नागरिकहरु ज्युँदो इतिहास भएको र उहाँहरुबाट नयाँ पुस्ताले धेरै इतिहास बुझ्न सक्ने बताउनुभयो ।

गुरुङसहित ज्येष्ठ नागरिक ९३ वर्षिया रिसीदेवी घिमिरेलाई सम्मान गरिएको छ । ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर पालिकाले स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै उहाँले ९० वर्ष माथिका अशक्त ज्येष्ठ नागरिकलाई मेडिकल अधिकृतसहितको टोली घरमै पुगेर निशुल्क औषधिसहितको स्वास्थ्य सेवासमेत प्रदान गरिने बताउनुभयो ।

गाउँपालिकामा ज्येष्ठ नागरिकको पहिचान तथा सम्मानका लागि पालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन गरिएको छ । पूर्व शिक्षक तथा समाजसेवी चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा गठन गरिएको समितिले पालिकाभित्रका ९० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको पहिचान गर्ने र उनीहरुलाई सम्मान गर्ने अभियान संचालन गरेको छ ।

पालिकाको ६ नम्वर वडाभित्र ९० वर्ष भन्दा माथिका छ जना ज्येष्ठ नागरिकको पहिचान गरिएको समितिका सदस्य एवम् पूर्व शिक्षक तथा समाजसेवी यामबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान गरिएकामध्ये पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरिसकिएको र एक जनालाई पछि सम्मान गरिनेछ ।

यस अघि ९० बर्ष माथिका ज्येष्ठ नागरिक अर्लबाङका तिलकप्रसाद श्रेष्ठ, च्युरापानीका डिगबहादुर नेपाली र ज्ञाने सार्कीलाई सम्मान गरिएको छ भने आज एक सय एक वर्षिया गुरुङ र ९३ वर्षिया घिमिरेलाई सम्मान गरिएको हो । नयाँगाउँका ज्येष्ठ नागरिक बोमबहादुर खड्कालाई पछि सम्मान गरिने सदस्य गुरुङले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय