प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ६० करोड १० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशनको दोस्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले आगामी वर्षको लागि बजेट प्रस्तुत गर्नु भएको हो ।

झिमरुकले विषयगत क्षेत्रमा रकम विनियोजन गरेको छ । जस अनुसार आर्थिक बिकास तर्फ ३ करोड ७१ लाख ६८ हजार, सामाजिक विकास तर्फ ३७ करोड १६ लाख ८ सय ५० रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै पुर्वाधार बिकास तर्फ ८ करोड १६ लाख, वातावरण तथा विपद ब्यवस्थापन बिकासमा ३० लाख र संस्थागत बिकास तथा सेवा प्रबाह तर्फ १० करोड ७६ लाख ३१ हजार ५० रुपैयाँ विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, श्रम र उद्यमशिलतालाई जोड दिइएको छ । आगामी आर्थिक बर्षको चालु तर्फ ३९ करोड ४४ लाख ८८ हजार र पुँजीगत २० करोड ६५ लाख १२ हजार बजेट गरि कुल ६० करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

कृषि तथा पशु पन्छी तर्फ संघीय ससर्त अनुदान, प्रदेश ससर्त अनुदान, गाउँपालिका अनुदान गरि कुल ३ करोड ७१ लाख ६८ हजार बजेट विनियोजन गरिएको छ । कृषकलाई कृषि पशुपंक्षी बिमा गर्न लाग्ने बिमा रकममा ५० प्रतिशत रकम अनुदान दिने बजेटमा ब्यवस्था गरिएको छ ।

घरेलु तथा साना उद्योग तथा उद्यम बिकासमा २८ लाख, पर्यटन बिकास तर्फ ८३ लाख, सहकारी तर्फ १५ लाख १० हजार, जलश्रोत र सिंचाइ तर्फ ८६ लाख ६५ हजार रकम विनियोजन भएको छ । त्यस्तै शिक्षा युवा तथा खेलकुद तर्फ २५ करोड २३ हजार ३ सय ५० रुपैयाँ बजेट रहेको छ । जस् मध्ये झिमरुक ५ स्थित गौमुखी क्याम्पसमा अध्यायन गर्ने सम्पुर्ण विद्यार्थीलाई निशुल्क अध्ययनको प्रबन्ध गरिएको छ । स्वास्थ्य पोषण तर्फ १० करोड ६३ लाख ९२ हजार ५ सय बजेट रहेको छ । खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन तर्फ ५८ लाख ९० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तर्फ १८ लाख २० हजार, भौतिक पुर्वाधार बिकास तर्फ ८ करोड १३ लाख ५० हजार बजेट मध्ये बाग्दुला-बतासेडाडा- मच्छी ढाड सडकलाई गाउँपालिकाको पहुँच मार्ग भित्रको मापदण्डमा रहेर स्तरोन्नति गर्न १ करोड बजेट विनियोजन भएको छ । सुशासन, संस्थागत व्यवस्थापन तथा सेवा प्रवाह  तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ७० लाख ३८ हजार बजेट विनियोजन गरिएको पालिकाका उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि वडागत बजेट समेत विनियोजन गरेको छ । जस अनुसार वडा नम्बर १ मा ५५ लाख ३० हजार, वडा नम्बर २ मा ५३ लाख ३० हजार, वडा नम्बर ३ मा ५८ लाख ८० हजार, वडा नम्बर ४ मा ४९ लाख ३० हजार ,वडा नम्बर ५ मा ५७ लाख ३० हजार, बजेट रहेको छ । यस्तै वडा नम्बर ६ मा ५३ लाख ३० हजार, वडा नम्बर ७ मा १ करोड ४३ लाख र वडा नम्बर ८ मा ५७ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।

यता चालु आर्थिक वर्षको पुँजीगत खर्च १० करोड ६ लाख २८ हजार ३ सय ८३ रुपैयाँ अर्थात ८५.७५ प्रतिशत र चालु खर्च तर्फ असारसम्म कुल खर्च ३४ करोड ८ लाख ६८ हजार ६ सय ३१ रुपैयाँ ३० पैसा अर्थात ८७.४३ प्रतिशत खर्च भएको छ ।

सभाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि प्राप्त हुने रचनात्मक सुझावलाई मार्गदर्शनको रुपमा लिई सबैको संयुक्त प्रयास, समन्वय, सहकार्य र अपनत्वबाट झिमरुक गाउँपालिकाकाे विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ।

गाउँपालिकाको समृद्धिको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई सहज पहुँच बढाउदै लैजाने, भौतिक पुर्वाधारको गुणस्तर अभिवृद्धि गर्दै समृद्धिको सम्भाब्य क्षेत्रहरू पहिचान गर्ने, स्थानिय श्रम, सीप र उद्यमशीलतालाई प्रबर्द्धन गर्दै व्यवसायिक कृषी स्वरोजगारमुलक उद्योग र प्रतिस्पर्धात्मक व्यापार विकासबाट आत्मनिर्भर बनाउने, पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने, बिकासमा जनतालाई सहभागिता गराई जनताले अपनत्व लिने गरि बिकास निर्माणको कामलाई अगाडि बढाउने, मागको आधार बिकास निर्माण योजनाको ब्यवस्थापन प्राथमिकतामा जोड दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीक कृषि प्रणालीलाई जोड दिने पशुमा आत्मनिर्भर बनाउने प्राविधिक शिक्षालाई जोड दिदै स्वरोजगार सृजना गर्ने उदेश्य राखेर गाउँपालिका अगाडि बढेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

सभामा गाउँसभाका सदस्य दधिराम पोख्रेलले विनियोजन विधेयक २०८१ र सभा सदस्य कृष्ण बहादुर जिसीले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्नु भएको थियो । त्यस्तै सभाका सदस्य धुर्बराज खनालले आर्थिक वर्ष २०८१/०८२ को दररेट, पार्वता बिकले गाउँ कार्यपालिका बैठकका निर्णय अनुमोदन सम्बन्धमा, सिताराम पोख्रेलले न्यायीक समितिको प्रतिबेदन पारित सम्बन्धमा, चोप बहादुर बिकले संघ संस्थाका कार्यक्रम समाबेश सम्बन्धमा, संगीता परियारले झिमरुकको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा ब्यवस्था गर्न बनेको ऎन २०७८ को संसोधन प्रस्ताव सम्बन्धमा र धन बहादुर पुनले बेरुजु फछ्र्यौट सम्बन्धमा कार्यसुची प्रस्तुत गर्नुभएको थियो । सबै कार्यसुची सर्व सहमत पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय