बासुदेव गिरी
प्यूठान । यसवर्ष चैते धान पाक्न थालिसकेको छ । जिल्लाका विभिन्न फाँटहरुमा लगाईएका चैते धान अब भित्र्याउने तयारीमा किसानहरु छन् । चैते धान यस वर्ष राम्रो फलेको किसानहरु बताउँछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माण्डवी गाउँपालिका–५ स्थित पारथुंगा फाँटमा यस वर्ष चैते धान खेती विस्तार गरेको छ । एक बाली मात्र धानखेती गर्दै आएका किसानले यसवर्ष चैते धान लगाएका हुन् । करीव पाँच सय रोपनी क्षेत्रफल रहेको फाँटमा किसानहरुले चैते धान लगाएका छन् ।
जिल्लामा प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा चैते धान खेती विस्तार हुँदै आएको छ । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानले चैते धान खेतीको प्रर्वद्धन गर्दै आएको छ । जसले गर्दा यसअघि चैते धान लगाएका किसानहरुले समेत निरन्तर रुपमा चैते धान खेती गर्दै आएका छन् ।
“३ वर्षदेखी निरन्तर चैते धान लगाउँदै आएको छु,” प्यूठान नगरपालिका–२ दाखाक्वाडीका मुक्ति पोख्रेलले भन्नुभयो, “अहिलेसम्म राम्रो उत्पादन भइराखेको छ ।” चैते धान खेतीका लागि परियोजनाले सिंचाई कुलो निर्माण, कृषि यन्त्रमा समेत सहयोग गरेकाले किसानलाई खेती गर्न सजिलो भएको उहाँको भनाई छ ।
जिल्लामा ६ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । धान उत्पादन बढाउन २ हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ । धान जोनले विगत ४ वर्षदेखि चैते धानको क्षेत्र विस्तारमा कार्यक्रम गर्दै आएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । वर्खे धानभन्दा बढी फल्ने भएकाले पनि यसको क्षेत्र विस्तारमा परियोजनाले जोड दिएको उहाँको भनाई छ । यो वर्ष करीव एक हजार दुई सय रोपनी क्षेत्रफल विस्तार भएको कार्यालय प्रमुख गिरीले बताउनुभयो ।
चैते धानका लागि चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ३ जातको वीऊ प्रयोग गरिएको छ । चैते धान खेती प्रर्वद्धनका लागि सिंचाई कुलो, मेसिन औजार, वीऊ, औषधी उपलब्ध गराउने गरिएको छ । यद्यपि यसवर्ष सिंचाईको समस्याले गर्दा कतिपय फाँटमा चैते धान खेती विस्तार गर्न समस्या भइरहेको छ । ऐरावती गाउँपालिका–२ हरियाटारीका किसान जानका राउतले भन्नुभयो, “अझैपनि पर्याप्त सिंचाईको व्यवस्था नहुँदा खेती गर्न समस्या छ ।”
शनिबार एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल लगायत सरोकारवाला निकायको टोलीले चैते धान लगायत कृषि तथा पशुपालनको अनुगमन गरेको थियो ।






S.K. Creative Media Group