प्यूठान । स्वर्गद्वारी नगरपालिका-८, शान्तिनगर दहचौरमा निर्माण गरिएको शान्ति पार्क परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको छ । मंगलबार पेशागत आन्दोलनका राष्ट्रिय शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको सन्दर्भ पारेर बृक्षरोपण कार्यक्रम गरिएको हो ।
नेपाल निजामती कर्मचारी संगठन प्यूठानको आयोजनामा सहिदको सम्झनामा वृक्षरोपण कार्यक्रम गरिएको छ । पेशागत आन्दोलनका राष्ट्रिय शहीदहरु मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसमा उहाँहरुले पेशागत आन्दोलनमा खेलेको भूमिकाको सम्झनामा वृक्षरोपण गरिएको संगठनका अध्यक्ष हरि पौडेलले बताउनुभयो । शहीदले देखाएको असल मार्ग पहिल्याउदै उहाँहरुले गर्न नसकेको बाकी कार्यभार पूरा गर्न सम्पुर्ण पेशाकर्मी लाग्नुपर्ने पौडेलले बताउनुभयो ।
शान्ति पार्क परिसरमा धुपी, अमला, श्रीखण्डका बिरुवा रोपिएको संगठनका अध्यक्ष हरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पार्क परिसरमा कल्ली र बिरेन्द्रको फुल समेत रोपिएको जानकारी दिनुभयो ।
कर्मचारी प्रशासनलाई जनमैत्री बनाउदै थप व्यवस्थित र मर्यादित बनाउन जिम्मेवार हुनुपर्ने पेशागत महासंघ प्युठानका अध्यक्ष दलबहादुर केसीले बताउनुभयो । कर्मचारीले जनताको काम सहजरूपमा कानुनले दिएको सिमाभित्र रहेर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष हरि पौडेल, सचिब सागर पण्डित, प्रदेश सदस्य टुक बहादुर रोका, पेशागत महासंघ नेपाल प्यूठानका अध्यक्ष दलबहादुर केसी, पेशागत महासंघ नेपाल प्युठानका निवर्तमान सचिब वासुदेव गिरी, संगठनका लालबहादुर रावल, सित्तल आचार्य, टेक बहादुर बिक, बिमला पौडेल, नारायणी पोख्रेल लगायत संगठनका सदस्य कर्मचारी, स्थानीयको उपस्थिति रहेको थियो ।




S.K. Creative Media Group