प्यूठान। प्युठानमा युवा दिवसका अवसरमा रक्तदान गरिएको छ । सोमबार २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रक्तसञ्चार सेवा केन्द्र विजुवार प्यूठानमा युवा गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा रक्तदान कार्यक्रम गरि दिवस मनाईएको हो ।

कार्यक्रममा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टले युवाका क्षेत्रमा धेरै नीतिगत काम भए पनि कार्यन्वयनमा चुनौती देखिएको बताउनुभएको छ । उहाँले युवाका क्षेत्रमा केही मात्रामा भए पनि सकारात्मक परिवर्तन देखा पर्न थालेपनी तर यो पर्याप्त नभएको बताउनुभयो । “अहिले मुलुकमा युवाका क्षेत्रमा काम गर्नका लागि धेरै नीतिगत कानून बनेका छन्”, उहाँले भन्नुभयो, “तर ती नीति कानुन अनुसार कार्यक्रम कार्यान्वयन नहुँदा युवाका मुद्दा सम्बोधन गर्न भने चुनौती थपिएको छ ।”

उहाँले युवा शक्ति अहिले विभिन्न मुलुकमा गएर आफ्नो श्रम र पसिना बगाएर कमाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुगेको बताउनुभयो । कर्मशिल युवालाई देशमा रोजगारी सृजना गरि देश बिकासमा जोडन सकेमात्र मुलुकमा समृद्धि ल्याउन सकिने उहाँले बताउनुभयो । राज्यले युवा शक्तिलाई मुलुक निर्माणमा जोडन ध्यान नदिनु विडम्बना भएको उहाँले बताउनुभयो । मुलुकमा युवाहरूले केही हुन्न र केही अवसर छैन भन्ने भाष्य निर्माण गर्ने कुराको अन्त्य गर्न युवा शक्ति नै लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै प्यूठान अस्पतालका कार्यरत डा.नवीन पोख्रेलले हरेक ३ महीनामा रक्तदान गर्दा स्वास्थ्यमा कुनैपनि असर नपर्ने भएकोले ढुक्कका साथ रक्तदान गर्न युवाहरूलाई अनुरोध गर्नुभयो । राष्ट्र निर्माणको अभिन्न अङ्ग युवा शक्ति भएकोले सामाजिक कैयन विकृतिको अन्त्य गर्दै सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।

यस्तै युवा गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले राज्यमा युवाहरुको कतिपय अधिकारमा स्पष्ट नीति अभावमा कारण युवाहरुका समस्या हल हुन नसकेको बताउनुभयो । ‘युवाहरुको समस्यालाई दिगोरुपमा हल गर्न राज्यले नीतिगतरुपमा ध्यान दिन जरुरी छ’ अध्यक्ष पहाडीले भन्नुभयो, ‘समयानुकुल युवा नीति र त्यसको सही कार्यान्वयनमा जोड दिएमात्र परिवर्तन सम्भव छ।’ त्यसको लागि देशका तिनै तहका सरकारले युवानीति तर्जुमा र त्यसको सहि कार्यान्वयमा पहल लिनुपर्ने आवश्यकता रहेको पहाडीले बताउनुभयो । युवाहरुको समस्या समाधानका लागि रचनात्मक सुझाव आवश्यक खण्डमा युवाका सवालमा सहकार्य गर्न युवा गैसस महासंघ तयार रहेको स्पष्ट पार्नुभयो ।

स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामाले अहिलेसम्म आफुले ६२ पटक रक्तदान गरिसकेको जानकारी दिनुभयो । रक्तदान जीवन दान जस्तै भएकोले सबैलाई सामाजिक कार्यमा जोडिन आग्रह गर्नुभयो । अहिले देशमा युवामा नेतृत्व विकास र रोजगारको समस्या हल गर्न ल्याइएका नीतिगत तथा संरचनागत संस्थाले नतिजामुखी परिमाण दिन नसक्दा बेरोजगार, नीतिगत निर्णय, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या अहिले पनि जस्ताको तस्तै रहेको बोल्ने बक्ताहरुले बताएका छन् । कार्यक्रममा युवाको माग सम्बोधनका लागि स्वयं युवा शक्ति नै लाग्नुपर्नेमा जोड दिएको छ ।

उक्त रक्तदान कार्यक्रममा ८ जना रक्तदाताले रक्तदान गर्नुभएको थियोे । जसमध्ये प्युठान नपा-१० मरन्ठाना बस्ने बिष्णु गिरी, प्युठान नपा-६ बस्ने केमान सिंह थापा, प्युठान नपा-५ बस्ने टेकराज केसी, प्युठान नपा-८ बस्ने अमरराज रुचाल, प्युठान नपा- ४ जुम्री बस्ने हेमन्त पाठक, मल्लरानी गापा-३ मुन्डाडा बस्ने बोम बहादुर परियार, माण्डबी गापा-१ तिराम बस्ने धर्मराज अधिकारी र मल्लरानी गापा-४ बास्कोला बस्ने बिरेन्द्र शाहले रगत दान दिनुभएको छ । रक्तदान गर्ने सम्पुर्ण ब्याक्तित्वलाई धन्यवाद दिएको छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने उदेश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । तर नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

रक्तदानहरुको फोटो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय