प्यूठान । स्वर्गद्वारी महाप्रभुको जन्मदिनमा स्वर्गद्वारी आश्रम सहित विभिन्न ठाउँमा विशेष कार्यक्रम गरिएको छ । स्वर्गद्वारी महाप्रभु नारायण गौतमको १६६ औं जन्मदिनको अवसरमा स्वर्गद्वारी आश्रम, दाङको घोराही, लमही, कपिलवस्तु, काठमाण्डौमा विभिन्न कार्यक्रम भइरहेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले जानकारी दिनुभयो ।


“स्वर्गद्वारी आश्रममा २४ घण्टा अखण्ड भजनकिर्तन गरिन्छ,” उहाँले भन्नुभयो, “आजको दिन विशेष रुपमा लघुरुद्री गरिन्छ ।” आश्रममा पुग्ने भक्तजनहरुलाई प्रसाद वितरण गर्ने कार्यक्रम चलिरहेको उहाँले बताउनुभयो । महाप्रभुमको रोल्पाको रुन्टीगढीमा विक्रम सम्वत १९१६ श्रावण शुक्ल पक्ष पुत्रदा एकादशीमा जन्म भएको थियो ।

महाप्रभुले विक्रम सम्वत १९५२ बैशाख पूर्णिमा दिन वेदको मन्त्रद्धारा अग्नी प्रज्वलित गरि अखण्ड महायज्ञ सञ्चालन गर्नुभएको थियो । जुन अखण्ड महायज्ञ अहिले पनि निरन्तर चलिरहेको छ । विश्व कल्याणको हेतुले महाप्रभुमले अखण्ड महायज्ञको थालनी गर्नुभएको आश्रमका कोठारी वासुदेव पोख्रेलले बताउनुभयो । स्वर्गद्वारीमा यज्ञ लगाएर पाँच पाण्डव स्वर्ग गएको किम्बदन्ती छ । स्वर्गद्धारी दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । स्वर्गद्वारीमा नेपालका विभिन्न ठाउँ सहित भारतीय भक्तजनहरु बढी आउने गर्दछन ।

स्वर्गद्धारीमा विशेष गरेर बैशाखे पूर्णिमा, गाई तिहारे औंशी, माघे संक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा बाह्रै महिना पुजाआजा हुने गर्दछ । स्वर्गद्वारीमा वेद पाठशाला समेत रहेको छ । २ हजार १ सय मिटर उचाईमा रहेको स्वर्गद्वारी पुग्न पक्की सडक समेत निर्माण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय