प्यूठान । २१ औं निजामती कर्मचारी सेवा दिवस प्यूठानमा मनाइएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहकार्यमा दिवस मनाइएको हो ।

खलंगा टुँडिखेलमा भएको मञ्च कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले जनताको गुनासो नआउने गरि कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा शुसासन र विकास निर्माणको क्षेत्रमा निजामति कर्मचारीको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशेष अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले सरकारले नै कर्मचारीलाई राजनीतिमा लाग्न प्रेरित गर्ने गरेको भन्दै कर्मचारीले जनताको काम गर्नेमा दृढ भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले आफ्नो पक्षमा पार्न प्रयोग गर्ने गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले निजामती कर्मचारीले सेवा प्रवाह र सिर्जनशिलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमले खराव कर्मचारीको खवरदारी गर्ने र राम्रो कर्मचारीले गरेको कामको प्रर्वद्धन र प्रचार गर्ने बताउनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज प्यूठानका उपाध्यक्ष शिवराज पण्डितले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष दुर्गा खड्का र सञ्चालन जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत जालन्धर भुसालले गर्नुभएको थियो । महेन्द्र माध्यमिक विद्यालय देखी टुँडिखेलसम्म कर्मचारीले प्ले कार्ड सहित ¥याली गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय