देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारत संग सिमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताउनु भएको छ । सिमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारी समक्ष आग्रह गर्नु भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की संगको भेटमा मुख्यमन्त्री आचार्यले सिमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिनुभएको हो । ‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘मुल नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैधकारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’
लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछी प्रहरी नायब महानिरीक्षक कार्कीले मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्नुभएको थियो । ‘भारतबाट दूध समेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध विक्रि भइरहेको छैन् । कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘यि बिषयलाई बिशेष ध्यान दिन जरुरी छ ।’
भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सिमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजश्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिनुभयो । उहाँले सिमा क्षेत्रमा निगरानी बढाएको र राजश्व छलेर भित्रिएका सामाग्रीहरु जफत गरिएको बताउनु भयो । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पु¥याउने कार्यलाई रोक लगाइएको जानकारी दिनुभयो ।
‘भारतीय गोरु तर, नेपाली बाटो भएर पुनः भारत लैजाने गिरोह सक्रिय छ । यसलाई नियन्त्रण गर्न पूर्णरुपमा खटिएका छौं’ उहाँले भन्नुभयो, ‘यि र यस्ता अवैध कारोबार हुन दिदैनौं ।’ हालै सम्पन्न प्रदेश सुरक्षा गोष्टीबाट पनि सिमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कार्यालयलाई बिशेष निर्देशन दिइएको थियो ।



S.K. Creative Media Group