प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा विभिन्न शाखा र वडाहरूले वर्षभर गरेका कार्यक्रमका उपलब्धिहरू तथा काम गर्ने बेला परेको समस्या र समाधान लगायत समग्र विषयमा छलफल गरिएको हो ।

समिक्षा कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले आर्थिक वर्ष २०८१-०८२ मा भएगरेका समग्र गतिविधिको जानकारी दिनुभएको थियो । सार्वजनिक गरिएका कतिपय गतिविधिमा जनताले सोधेको प्रश्नको जवाफ पालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्ष, शाखा प्रमुख लगायतले दिनुभएको थियो ।

 

कार्यक्रममा अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकामा सफलतापूर्वक कार्यान्वयनमा आएका सबै योजनाहरूले जनतालाई प्रत्येक्ष फाइदा गुग्ने बिश्वास गर्नुभयो । उहाँले योजना कार्यान्वयनमा स्थानीय जनता, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायको सहयोगप्रति आभार व्यक्त गर्दै पालिकाको बिकास र समृद्धिको लागि सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, युवा उद्यमशीलता जस्ता क्षेत्रमा पालिकाले उल्लेखनीय प्रगति गरेको बताउनुभयो।

स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले जनताले अनुभुती गर्ने गरि काम गर्नुपर्नेमा सबैलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारको मूल जिम्मेवारी जनताको सेवा हो, जसलाई हामी सबै मिलेर अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले नतिजामुखी सेवा प्रवाह, स्रोतको सही उपयोग र जनसहभागिताको सन्तुलनबाट मात्र जनमुखी बिकास र हामिले कल्पना गरेको समृद्धि ल्याउन सकिने बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको आपसी विश्वास र सहकार्यबाट मात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। योजनामा पारदर्शिता र सहभागितालाई प्राथमिकता दिएर अगाडि पढेमात्र यो संभव हुने उहाँको भनाइ छ। उपाध्यक्ष पोख्रेलले सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र जनउत्तरदायी बनाउन विशेष ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो।

गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत बिकास केसी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि, स्थानीय जनता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहजीकरण योजना शाखा प्रमुख यामलाल पोख्रेलले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय