प्यूठान । प्यूठान नगरपालिकाको न्यायिक समितिले हालसम्म अधिकांश मुद्धा मेलमिलापबाट टुंगो लगाएको छ । न्यायिक समितिमा दर्ता भएको १९६ वटा मुद्धा मध्ये १७० वटा विवाद मेलमिलापबाट टुंगो लागेको हो ।
मानाचामल र ज्यालामजदुरी सम्वन्धी दुई वटा मात्र मुद्धा फैसला गरिएको न्यायिक समितिका संयोजक एंव प्यूठान नगरपालिकाका उप प्रमुख देवेन्द्र वर्माले बताउनुभयो । २४ वटा विवाद प्रक्रियामा रहेको समेत उहाँले जानकारी दिनुभयो ।
बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर नगरपालिकाले न्यायिक समितिले गरेको कामको बारेमा जानकारी गराएको हो । न्यायिक समितिमा आउने विवाद मध्ये ४० प्रतिशत लैंगिक हिंसा र घरेलु हिंसा सम्वन्धी विवाद रहेका छन् ।
पालिकाले मनोसामाजिक परामर्श समेत उपलब्ध गराउने गरेको वर्माले बताउनुभयो । न्यायिक समितिको बारेमा आम नागरिकमा कम जानकारी हुनु, जनशक्ति र स्रोत साधनको सिमितता लगायत कारणले न्यायिक समितिको काम कारवाहीलाई थप प्रभावकारी बनाउन नसकिएको उप प्रमुख वर्माले जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा नगर प्रमुख विष्णु बहादुर योगी, प्रवक्त सुमन श्रेष्ठ, वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।



S.K. Creative Media Group