प्यूठान । नौबहिनी गाउँपालिका–८ फोप्लीमा ०७९/०८० सम्म महिलाले घरमै बच्चा जन्माउथे । फोप्ली स्वास्थ्य चौकीको तथ्यांक अनुसार ०७८/०७९ मा ९ जना र ०७९/०८० मा १४ जना महिला घरमै सुत्केरी भएका थिए ।
तर पछिल्लो दुई वर्ष यता नौबहिनी गाउँपालिका–८ नम्वर वडामा एक जना पनि महिला घरमा सुत्केरी भएका छैनन । ०८०/०८१ र ०८१/०८२ मा घरमा हुने सुत्केरीको संख्या शुन्य बनेको छ । भौगोलिक रुपमा विकट वडा भएपनि महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहको सक्रियतामा घरमा हुने सुत्केरीलाई शुन्यमा झारिएको स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरे बताउनुहुन्छ ।
“वडाका सवै टोलमा सडक नपुगेकाले गर्भवती महिलालाई स्वास्थ्य संस्था आउन जान समस्या नै छ” उहाँले भन्नुभयो,“त्यसैले हामीले गर्भवती महिलाको उद्धार गर्न ४० वटा टोलमा गर्भवती महिलालाई सहयोग तथा उद्धार गर्न समुह बनाएका छौं ।” यो अभ्यासले गर्दा विगत दुई वर्षमा सवै गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्था ल्याउन सफल भएको घिमिरेले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहलाई सक्रिए बनाएर काम गर्दा प्रभावकारी बनेको उहाँको भनाई छ । गर्भवतीको उद्धारका लागि सवै समुहमा स्टेचर उपलब्ध गराइएको छ ।
लुम्बिनी प्रदेशको पूर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्वन्धि मापदण्ड २०८० बमोजिम ८ नम्वर वडालाई पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।
गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै एकतर्फी एम्बुलेन्स सेवा, एम्वुलेन्स उपलब्ध नभएको अवस्थामा भाडा उपलब्ध गराउने गरेको छ । सुत्केरीलाई स्वास्थ्य संस्थामै खाना सुविधा, स्वास्थ्य संस्थामै भिडियो एक्सरे, रक्तपरीक्षण सेवा समेत उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।
घोषणा कार्यक्रममा ४० वटा समुहलाई प्रमाणपत्र, स्वयंसेविकालाई प्रमाणपत्र, अनमी क्रान्ती पन्थीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान, नर्सिंग स्टाफलाई सम्मान, सुत्केरी बोकेका ३० जना महिलाहरुलाई झोला र छाता वितरण गरिएको थियो । स्थानीय स्तरमा चल्ने दुई जना गाडीका चालक र पालिकाको एम्बुलेन्स चालकलाई सम्मान गरिएको थियो । उद्धार समुहलाई हौसला प्रदान गर्दै थप सक्रिय बनाउँदै लैजाने वडाको योजना छ ।



S.K. Creative Media Group