दाङ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस-२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो ।

प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले रक्तदान, अन्तरक्रिया, वृक्षारोपण, सरसफाई, खेलकुद प्रतियोगिता, परिसंवाद, सांस्कृतिक झाँकीसहितको प्रभातफेरी र मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले भदौ २० गते बिहान ७ बजे स्वास्थ्य मन्त्रालयको संयोजनमा नेपाल रेडक्रस सोसाइटी तथा सुरक्षा निकायसँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सोही दिन दिउँसो १ बजे `संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती´ विषयक अन्तरक्रिया कार्यक्रम राखिनेछ ।

त्यस्तै, भदौ २१ गते बिहान ७ बजे प्रशासनिक परिसर क्षेत्रमा वृक्षारोपण गरिने, सोही दिन बिहान ८ बजे सरसफाई कार्यक्रम गरिने, भदौ २० र २१ गते खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । यस्तै भदौ २२ गते प्रशासनिक संघीयता सम्बन्धी परिसंवाद, सोही दिन बिहान १० बजे सांस्कृतिक झाँकी, व्याण्ड बाजासहित प्रभातफेरी हुने निर्णय भएको मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले जानकारी दिनुभयो ।

भदौ २२ गते बिहान ११ बजे कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवस मूल समारोह आयोजना गरिनेछ । सो अवसरमा प्रदेश निजामती सेवा पुरस्कारसमेत प्रदान गरिनेछ ।

यस्तै, दिवसको अवसरमा भदौ २०, २१ र २२ गते आ-आफ्नो मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय