
प्यूठान । मानवसेवा आश्रमले थालेको मानवता प्रर्वद्धन महाअभियानको विषयमा प्यूठान जिल्लामा सरोकारवालाबीच बृहत छलफल तथा अर्न्तक्रिया गरिएको छ । नेपाल सरकारले आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र बनाउने घोषणा कार्यान्वनका लागि मानव सेवा आश्रमले जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो ।
मानव सेवा आश्रमको आयोजना र जिल्ला समन्वय समिति प्यूठानको समन्वयमा अन्तरक्रिया भएको हो । सडक आश्रित मानवहरुका लागि नाना, खाना, छाना र स्वास्थ्यको प्रबन्ध आश्रमले प्रदान गर्दै आएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग मिलेर काम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार हालसम्म कर्णाली प्रदेश र गण्डकी प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भएका छन । अहिले लुम्बिनी प्रदेश घोषणाको तयारीमा रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
आश्रमले २१ जिल्लामा २७ वटा सेवा केन्द्रबाट २ हजार बढिलाई सेवा दिदै आएको छ । प्यूठान जिल्लाका ६ महिला र ३ पुरुष गरि ९ जनाले मानव सेवा आश्रम रुपन्देही र दाङबाट सेवा लिएको आश्रमले जनाएको छ । स्वर्गद्वारी नगरपालिकाका ५, प्यूठान नगरपालिका, मल्लरानी, माण्डबी र झिमरुक गाउँपालिकाका १/१ जना रहेका छ्न । त्यस्तै प्यूठान घर बताउने ५ जनालाई बुटवलबाट उद्दार गरि आश्रममा राखिएको आश्रमले जनाएको छ ।
आश्रमले बेबारिसे अवस्थामा रहेका, स्वयं आफ्ना लागि केहि गर्न नसक्ने अवस्थाका, मनोरोगका कारण बाधेर, थुनेर राखिएका र सडकमा मनोरोगी महिलाबाट जन्मिएका बालबालिकालाई प्राथमिता दिएर आश्रममा राख्ने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।अन्तरक्रिया कार्यक्रमा जनप्रतिनिधि, राजनितीक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।