प्यूठान । गैरसरकारी संस्था महासंघ प्यूठानले गृह मन्त्रालयले तयार गरेको गैसस दर्तासम्बन्धी मस्यौदामा असहमति जनाउँदै विरोध गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ध्यानाकषर्ण पत्र पेस गरेको हो ।
‘संघसंस्था ऐन, २०८२’ को मस्यौदाका अधिकांश प्रावधानले नागरिक संघ–संस्थालाई थप संकुचित पार्ने, संस्थालाई सहजीकरण तथा सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने, स्वायत्त अविछिन्न उत्तराधिकारी भएको संस्थाको अधिकार हनन गर्ने, कानुनी व्यक्तिले उपभोग गर्न पाउने अधिकारको कटौती गर्ने, नागरिक सहभागिताको भूमिकालाई कटौती गर्ने साथै नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताको साझा मूल्यहरुमा समेत प्रहार गरेको ठहर गर्दै लोकतान्त्रिक मुल्य–मान्यता, संवैधानिक अधिकार, नागरिक स्वतन्त्रता र सरोकारवालाको सहभागितामा मस्यौदालाई पुनर्लेखन गरी ऐनको मस्यौदामा रहेका त्रुटि तत्काल सच्याउन गृह मन्त्रालय अनुरोध गर्दै ध्यानाकर्षण पत्र पठाएको हो ।
सो ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सम्वन्धित निकायमा पठाउने ब्यवस्था गरिने बताउनुभयो । ध्यानाकर्षण पत्र बुझाउन गैसस महासंघका पदाधिकारी, पत्रकार महासंघका अध्यक्ष सहितका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।




S.K. Creative Media Group