प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकाका स्थानीय महिलाहरुले आफ्नो वडाका केही योजनाहरुमा तत्कालै बजेट विनियोजन गरी मागको सुनुवाई गरिदिन् गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन् । झिमरुक गाउँपालिका(४ का स्थानीय अगुवा महिलाहरुले वडा भित्रको अत्यावश्यक योजनामा बजेट व्यवस्थापन गरिदिन ध्यानाकर्षण गराएका हुन ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई मागपत्र बुझाउँदै महिलाहरुले वडा नम्वर ४ स्थित हर्रे र वडा नम्वर ५ का केही बस्तीलाई समेट्ने गरी योजनामा बजेट व्यवस्थापन गरिदिन माग गरिएको छ।

हर्रेदेखि फड्के जोड्नका लागि झोलुंगे पुल निर्माण, निर्माणधिन मदन भण्डारी राजमार्गको कारण दिनहुँ पहिरो जाँदा जोखिममा परेको हर्रे गाउँको संरक्षण, फड्केमा सिंचाई कुलो निर्माण र छहरा सिंचाई कुलो निर्माणमा विशेष व्यवस्थाबाट भएपनि बजेट विनियोजन गर्न महिलाहरुको समूहले डेलिकेसन सहित आफ्नो मागपत्र बुझाइएको स्थानीय देबा जिसीले जानकारी दिनुभयो ।

गाउँसरकार नजिकै भएरपनि बजेट विनियोजन नहुँदा नागरिकको दैनिक जीवनसंग जोडिएको विषय सम्वोधन हुन नसकेको महिलाहरुको दुःखेसो छ ।

झिमरुक गाउँपालिका वडा नम्वर ४ का देवा जिसी, मनिका जिसी, गंगा केसी, अस्मिता जिसी, देवा जिसी, भूमा जिसी र शुसिला केसीको समूहले मागपत्र बुझाएको हो ।

महिलाहरुको मागपत्र बुझ्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले माग गरिएको योजनाहरुको स्थलगत निरीक्षण गरी लागत अनुमान सहित राय पेश गर्न प्राविधिक टोलीलाई निर्देशन गरेको बताउनुभयो । पालिका अध्यक्ष एमसीका अनुसार प्राबिधिक प्रतिवेदनअनुसार महिलाहरुले राखेको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पछिल्लो समय गाउँपालिका अध्यक्ष एमसीले प्रत्येक वडा बस्तिमा पुगेर जनताको गुनासो सुन्ने अभियान सुरु गर्नुभएको छ । उक्त अभियानमा स्थानीय जनताको अत्यावश्यक मागलाई सम्बोधनका लागि जनतासँग छलफल चलाउदै आउनुभएको छ। सोही अभियानमा जनताले उठाएका अत्यावश्यक माग र योजनालाई क्रमश प्राथमिकता दिएर सम्बोधन गर्ने योजना बनाएको अध्यक्ष एमसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय