प्यूठान । गौमुखी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने उदेश्यले शुरु गरिएको गौमुखी भ्रमण वर्ष–२०८२ को प्रर्वद्धन गर्नका विभिन्न गतिविधि गर्ने भएको छ।
गाउँपालिकाको पहिचान र परिवेश समेट्ने गरी गीत रचना गर्नका लागि इच्छुक सम्पुर्ण स्रष्टाहरुलाई पालिकाले बिहिवार सूचना मार्फत जानकारी गराएको हो ।
गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक एवं साँस्कृतिक लगायतका अन्य विविध पक्षहरुलाई समेटेर गित रचना गर्नुपर्ने पालिकाले जनाएको छ ।
रचना गरिएका गीत पालिकामा यहीँ भाद्र ३१ गतेसम्म आइपुग्ने गरी पठाउन समेत अनुरोध गरिएको छ। रचना गरिएको गीत ८ देखि बढीमा १० हरफसम्मको हुनुपर्ने नियम रहेको छ । पालिकामा प्राप्त भएका रचना मध्येबाट छनौट समितिद्वारा छनोट भएका उत्कृष्ट पाँच रचना मध्येबाट सर्वोत्कृष्ट एक रचना छनौट गरिने पालिकाले सूचना मार्फत जानकारी दिएको छ ।
सर्वोत्कृष्ट भएको रचनालाई राष्ट्रिय, स्थानीय स्तरमा ख्यातीप्राप्त वरिष्ठ सङ्गीतकारद्वारा सङ्गीतबद्ध गराई राष्ट्रिय, स्थानीय स्तरको गायक, गायिकाको स्वरमा रेकर्ड गराई भिडियो समेत निर्माण गरिने समेत पालिकाले जनाएको छ।
छनोटमा सर्वोत्कृष्ट हुने रचनाकारलाई तीस हजार रुपैया नगद सहित प्रमाणपत्रले सम्मान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नियमको पालना नगरिएको रचनालाई प्रतिस्पर्धामा समाबेश गर्न नसकिने समेत सूचना मार्फत जानकारी गराएको छ । गौमुखी भ्रमण वर्ष–२०८२ को मुख्य नारा “पर्यटन र पूर्वाधार, समृद्धिको आधार नयाँ गन्तव्य नयाँ अनुभव, घुम्न जाऔं गौमुखी स-गौरव” भन्ने रहेको छ ।
गाउँपालिका भित्र रहेका झरना, तालतलैया, जंगल, धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकलाई भित्र्याउने उदेश्यले भ्रमण वर्ष मनाउन लागिएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उदेश्य लिएर भ्रमण वर्ष मनाउन लागिएको अध्यक्ष गिरीको भनाई छ ।
गौमुखी गाउँपालिका भित्र गौमुखी, बाइसमुल झरना, झाक्रिढुङ्गा, तामाखानी, नाङ्गी लेक, गुफा, रानीताल, गोद्रेचौर लगायतका उक्त क्षेत्रबाट निकै मनोरम दृश्य अवलोकन गर्दै घुम्ने सकिने स्थान रहेका गाउँपालिका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख पर्यटक ल्याउने लक्ष्य सहित शुभारम्भ गरिएको भ्रमण वर्षलाई सफल बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।




S.K. Creative Media Group