काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ। आजदेखि बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जंगी अड्डाले जनाएको छ।
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयको सूचना अनुसार भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कर्फ्यु आदेश रहने जनाएको छ।
जङ्गी अड्डाको सूचना अनुसार बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कार्यको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ ।
‘देशको पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले सूचना मार्फत जानकारी दिएको छ ।
त्यसैगरि निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी, औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न दिने सेनाले जनाएको छ।
विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने जनाएको छ ।
काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने भनिएको छ । आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा जङ्गी अड्डाले अनुरोध गरेको छ।



S.K. Creative Media Group