प्युठान । काठमाडौं महानगरपालिकाले प्युठानको झिमरुक गाउँपालिका सहित देशभरका ३५ दुर्गम क्षेत्रका गाउँपालिकालाई नि:शुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । नेपाल सरकारले राजश्व छुटमा महानगरपालिकाले खरिद गरेर ग्रामीण क्षेत्रका पालिकाहरुलाई एम्बुलेन्स उपलव्ध गराएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत देशभरका छनोटमा परेका दुर्गमका गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने जानकारी गराउनुभएको हो । आजदेखि छनोटमा परेका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने समेत महानगरले जनाएको छ

झिमरुक गाउँपालिकालाई प्राप्त हुने एम्बुलेन्स ओखरकोट स्वास्थ्यचौकी मार्फत संचालन गर्ने जनाइएको छ । महानगरले नै एम्बुलेन्सको रंगरोगन गर्दा उक्त स्वास्थ्यचौकीकै नाम उल्लेख गरेको छ ।

पालिकाले एम्बुलेन्सको लागि आग्रह गरिरहेको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । उपाध्यक्ष पोख्रेलले आफुहरुले महानगरलाई पटकपटक एम्बुलेन्सको लागि आग्रह गरिएकोमा यसपटक छनोटमा परेकोले महानगरलाई धन्यवाद दिनुभयो ।

महानगरपालिकालाई पटक पटक गरिएको आग्रहलाई स्वीकार गर्दै निःशुल्क एम्बुलेन्स प्राप्त भएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । ‘देशकै ठूलो काठमाण्डौँ महानगरपालिकासंग झिमरुक गाउँपालिका पनि जोडिएको छ’,गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य समेत रहनुभएको उपाध्यक्ष पोख्रेलले भन्नुभयो,‘महानगर उपप्रमुख र प्रमुखलाई भेटेरै धेरैपटक गरिएको अनुरोध स्वीकार गरेकोमा धेरै खुसी छौ ।’

महानगरले झिमरुक सहित देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको मेयर बालेन शाहले जानकारी दिनुभयो । दुर्गम र मापदण्डमा परेका पालिकाहरुलाई महानगरले एम्बुलेन्स दिएको हो । तर, अघिल्लो वर्षदेखि नै एम्बुलेन्स प्राप्तीका लागि झिमरुकले महानगरलाई आग्रह गरिरहेको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

पालिकाले प्राप्त गरेको उक्त एम्बुलेन्सलाई बजारमा करिव ३२ लाख रुपैयाँ भन्दा बढी लागत पर्ने बुझिएको छ । पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ  ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको मेयर साहले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा  लेखेका छन्, ‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो । देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो । यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’ उहाँले विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सुरु हुने जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय