प्युठान । प्युठानमा पत्रकार र प्रहरीलाईको निःशुल्क आँखा जाँच गरिएको छ । बिहिवार विश्व दृष्टि दिवसको अवसर पारेर प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्युठानको आयोजनामा सञ्चारकर्मी र सुरक्षाकर्मीको लागि निःशुल्क आँखा जाँच गरिएको हो ।

दिवसको अवसरमा आँखा उपचार र रोकथाम गर्न सकिने अन्धोपनका समस्या तथा समाधानबारे जनस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल नेत्र ज्योति सङ्घ, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले उक्त कार्यक्रम आयोजना गरेको हो ।

“आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ विश्व दृष्टि दिवसको अवसरमा इलाका प्रहरी कार्यालय बिजुवारमा कार्यरत प्रहरी तथा ट्राफिक प्रहरी, जिल्ला क्रियाशील सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नरेन्द्र गायत्री आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रकाश राज भण्डारीले जानकारी दिनुभयो । मानव जीवनको अत्यन्तै संवेदनशील अङ्ग आँखाको उपचार नियमित गर्नुपर्ने उहाँले बताउनुभयो । अस्पतालले जिल्लामा दुर्गमका स्थानीयलाई सहजताको लागि आँखा जाँच कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी गराउनुभयो।

प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले हरेक महिना नियमित रूपमा मोतियाविन्दुको शल्यक्रिया सञ्चालन गरिँदै आएको छ। दिवसको अवसरमा ४० जना पत्रकार र प्रहरी, ट्राफिक प्रहरीलाई निःशुल्क उपचार तथा चस्मा वितरण गरिएको थियो। दिवसको अवसरमा पत्रकार र प्रहरीलाई निःशुल्क आँखा जाँच औषधी र आवश्यक परे चस्मा समेत प्रदान गरिएको राजभण्डारीले बताउनुभयो ।

आँखाको स्वास्थ्यका विषयमा स्थानीय स्तरमा जनचेतना फैलाउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै, दृष्टि संरक्षणमा सबै क्षेत्रका व्यक्तिहरू सचेत हुनुपर्ने बताउनुभयो ।

मानव जिवनको आँखा अत्यन्त संवेदनशील अंग भएकोले यसको नियमित चेकजाँच गर्नुपर्ने नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिनुभयो । सामान्य लापरवाहीले पनि दृष्टि गुम्ने जोखिम रहेको भन्दै जनताले नियमित आँखा जाँच गराउन अनिवार्य रहेको ठकुरीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा आँखा अस्पतालले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो। सर्वसाधारणमा आँखाको स्वास्थ्यप्रति पर्याप्त चेतना नहुँदा समस्या बढ्दै गएको उल्लेख गर्दै विद्यालयदेखि समुदायस्तरमा सचेतना विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका सचिब वासुदेव गिरी, प्रेस युनियनका अध्यक्ष मधुसूदन भण्डारी, युनियनका प्रदेश सचिब समसेर बिक्रम जिसी, प्रगतिशीलका उपाध्यक्ष जुमान सिंह केसी, सामुदायिक प्रशारक संघ निवर्तमान उपाध्यक्ष भुवन सिंह, इलाका प्रहरी कार्यालय कार्यालय प्रमुख लगायत पत्रकार, सुरक्षाकर्मीहरुको उपस्थिति रहेकोे थियो ।

नेपाल पत्रकार महासंघ प्यूठान र इलाका प्रहरी कार्यालय बिजुवारले समन्वय गरेको कार्यक्रमको सहजीकरण आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य भगत कर्माचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य अस्पतालका निवर्तमान अध्यक्ष केशव कर्माचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय