 
							प्यूठान । प्यूठानमा तिहारको भोलिपल्टबाट विभिन्न स्थानमा मेलाहरु लाग्ने गर्छन् । जिल्लामा लाग्ने मेला मध्ये आज (शुक्रबार) ठूलो तथा ऐतिहासिक महत्त्व रहिआएको डल्ले सरायँ मेला हुँदैछ ।
तिहारको अर्को दिन लाग्ने जिल्लाको ठूलो तथा ऐतिहासिक महत्त्व रहिआएको सरायँ मेला आज हुन लागेको हो । प्यूठान नगरपालिका-७ स्थित डल्ले मेलामा सरायँ नाँचको प्रर्दशन, प्रतियोगिताको रुपमा प्रतिस्पर्धा समेत गराउने चलन रहेको छ ।
खासगरी बामदेब गौतम गृहमन्त्री हुँदा २०७० सालदेखि प्रतियोगिताको रुपमा सुरु गरिएको डल्ले सरायँ नाचलाई स्थानीय तहहरूले निरन्तरता दिँदै आएका छन् ।
किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला एक जना राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयाली सहित त्यस ठाउँमा वर्षेनी भाइटिकाको भोलिपल्ट सराएँ मेला लाग्ने गर्दछ ।
नांगो तरवार, लाठी नचाउँदै विभिन्न गाउँ गाउँबाट प्रतिस्पर्धी समुह जम्मा हुने गर्दछन् । पहिले पहिले पुरुषले मात्र सरायँ नचाउने गरेकोमा अहिले महिलाले समेत सराए नचाउन थालेका छन् । बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै’ सरायँ नचाउने गरिएको स्थानी सुशील पोख्रेलले बताउनुभयो ।
तेह्रौँ शताब्दीको अन्त्यतिरबाट यो नाच सुरु भएको भन्ने मान्यता छ । तेह्रौँ शताब्दीमा भित्रीकोटका जाट राजाको स्थानीयले वध गरेको खुसीयालीमा यो नाच देखाउन थालिएको किंवदन्ती समेत रहेको पोख्रेलको भनाइ छ।
मेलामा रमाईलोका लागि विभिन्न स्थानीय नाँच, स्थानीय किसान, उद्यमीले उत्पादन गरेका बस्तुहरुको किनबेच समेत हुने गर्दछ । मेलामा जिल्लाभरबाट र बाहिरी जिल्लाबाट समेत मानिसहरु आउने गर्दछन् । आज लाग्ने मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।



 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
												 
												 
												 
												 
												 
											 
								 
								 
								 
								 
								 S.K. Creative Media Group
S.K. Creative Media Group