प्यूठान । जिल्लामा लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान शुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहल १६ दिनसम्म विविध कार्यक्रम गरी दिवश मनाउने योजना बनाएका छन ।
ऐरावती गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवातमा र्याली, दिप प्रज्वलन र अभिमुखीकरण कार्यक्रम गरेको छ । ऐरावती गाउँपालिकाको आयोजना, कालिका विकास केन्द्र नेपाल, स्ट्रोम फाउन्डेशनको सहयोगमा पालिका स्तरीय कार्यक्रम गरिएको हो ।

पालिका स्तरीय महिला सञ्जालका अध्यक्ष निर्मला थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो ।
प्रमुख अतिथी श्रेष्ठले हिंसा गर्नेलाई कारवाही गर्न राज्य सधंै लाग्नुपर्ने भन्दै हिंसा सहेर बस्दा पनि समाजमा समस्याहरु उत्पन्न भएको बताउनुभयो । उहाँले हिंसा प्रायः महिलामाथी हुने गरेको भनिएपनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेको बताउँदै त्यसका लागि समाज सभ्य र हिंसाविरुद्द लाग्ने तत्परता चाहिएको धारणा व्यक्त गर्नुभयो ।
वडा नम्वर १ का वडा अध्यक्ष अमर रेश्मी मगरले अझैपनि समाजमा महिलाहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताउनुभयो । राज्यका प्रमुख पदहरुमा महिलाहरु पुगेपनि अझै पनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकिरहेको हुँदा महिलाहरुले आफ्नो क्षमता विकाससँगै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
ऐरावतीको पुरनठाटी बजारदेखी गाउँपालिकासम्म नारा सहित र्याली निकालिएको थियो । गाउँपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाको महिला विकास निरीक्षक सोम कुमारी दाहालले प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता धना रोका मगरले गर्नुभएको थियो । नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म मनाईने यस अभियानको यस वर्षको नारा “प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसाको अन्त्य गरौं” भन्ने रहेको छ ।




S.K. Creative Media Group